इटहरी ।  कोरोना महामारीको समयमा भारतबाट आउने संक्रमित तथा शङ्कास्पद व्यक्तिहरूलाई राख्न सरकारले करोडौँ रुपियाँ खर्चेर विराटनगरमा निर्माण गरेको होल्डिङ सेन्टर अहिले प्रयोगमै नआई जीर्ण बन्दै गएको छ।

विराटनगर–१६ रानीस्थित विराटनगर जुटमिलको पाँच बिघा जग्गामा २८ करोड ९१ लाख रुपियाँ खर्चेर निर्माण गरिएको यो संरचना अहिले संरक्षण र उपयोगको पर्खाइमा जीर्ण अवस्थामा पुगेको हो। नेपाली सेनामार्फत २०७८ सालमै निर्माण सम्पन्न गरिएको यस सेन्टरमा २२ वटा ठूला आवास हलसहित ५९ वटा भवन संरचनाहरू छन्। ती संरचनामा संक्रमितका लागि बेड, १५ वटा किचन हाउस तथा २२ वटा शौचालय र बाथरुम निर्माण गरिएका थिए। तर, निर्माण सम्पन्न भएको तीन वर्षसम्म पनि सेन्टर सञ्चालनमा आउन सकेन।

लामो समयसम्म प्रयोगविहीन हुँदा प्रिफ्याब प्रविधिबाट बनाइएका भवनहरू घाम र पानीका कारण मक्किन थालेका छन्। भवनका टिनका पाता उप्किएका छन् भने प्रिफ्याबका भित्ताहरूमा प्वाल पर्न थालेका छन्। त्यहाँ खटिएका सुरक्षाकर्मीका अनुसार सरसफाइ गर्न जाँदा पनि सामग्रीहरू टुटफुट हुने अवस्था छ।  होल्डिङ सेन्टरको सुरक्षाका लागि अहिले नेपाली सेनाको एउटा प्लाटुन खटिएको छ। तर मानवीय गतिविधि नहुँदा र उपयोगविहीन हुँदा धाराका टुटीदेखि पानीका ट्याङ्कीसमेत बिग्रिएका छन्।

विगतमा कोशी प्रदेश सरकारले यस स्थानमा अस्पताल सञ्चालन गर्ने योजना बनाएको भए पनि उक्त योजना अघि बढ्न सकेन, जसका कारण विशाल संरचना उपयोगविहीन बनेको हो। विपदका समयमा मात्र प्रयोग गर्ने उद्देश्यले बनाइएका यस्ता अस्थायी संरचनाहरूलाई अन्य समयमा कसरी उपयोग गर्ने भन्ने स्पष्ट नीतिको अभाव देखिएको छ। विज्ञहरूले यसलाई शिक्षा, तालिम केन्द्र वा अन्य अस्थायी प्रयोजनका लागि प्रयोग गर्न सुझाव दिए पनि सरकारले ठोस निर्णय गर्न सकेको छैन।

यदि भोलि कुनै विपद आइलागेर पुनः सञ्चालन गर्नुपर्ने अवस्था आएमा मर्मतका लागि मात्र पनि थप ठुलो रकम खर्च गर्नुपर्ने स्थिति छ। राज्यको करिब २९ करोड रुपियाँ लगानीमा निर्माण गरिएको यो आयोजना उचित व्यवस्थापनको अभावमा ‘बालुवामा पानी’ सरह बनेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन्। उनीहरूले यो संरचना तत्काल कुनै न कुनै प्रयोजनमा उपयोग गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

विराटनगर–१६ रानीस्थित विराटनगर जुटमिलको पाँच बिघा क्षेत्रमा निर्माण गरिएको होल्डिङ सेन्टर प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ।Holding_center_1