इटहरी । उदयपुर विकास समितिले बेलका नगरपालिकालाई पर्यटकीय हब बनाउने उद्देश्यका साथ ’कोशी रिभर पार्क’ देखि ’पर्यटन विश्वविद्यालय’ सम्मका महत्त्वाकांक्षी योजनाहरू सार्वजनिक गरेको छ ।

बेलका पर्यटन महोत्सवको समापन समारोहमा आइतबार समितिका अध्यक्ष एवं त्रियुगा नगरपालिकाका पूर्वप्रमुख वलदेव चौधरीले १ अर्ब ५० करोडभन्दा बढीको प्रस्तावित बजेट सहितको तीन चरणको गुरुयोजना प्रस्तुत गर्नुभयो । जसअन्तर्गत २ वर्षको अल्पकालीन योजनाका लागि १ करोड २५ लाख, ५ वर्षको मध्यमकालीन योजनाका लागि २ करोड ५० लाख र १० वर्षभित्र ठूला रिसोर्ट, इको पार्क तथा पर्यटन विश्वविद्यालय स्थापना गर्ने दीर्घकालीन लक्ष्यका लागि १ अर्ब २५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

’जल, जमिन र आकाशमा रमाऔं’ भन्ने मूल नाराका साथ आयोजित यस महोत्सवको समापनमा साहसिक खेल पर्यटनको विशेष प्रदर्शन गरिएको थियो । सप्तकोशी नदीमा ¥याफ्टिङ, आकाशमा प्याराग्लाइडिङबाट पुष्पवृष्टि र सोमबारे देखि बोप्ताङ हुँदै आराङ्गा सम्मको चुनौतीपूर्ण मार्गमा साइक्लिङ प्रतियोगिता आयोजना गरिएको थियो ।  साइक्लिङमा निमा शेर्पा प्रथम, मिलन परियार दोस्रो, उत्सव मग्राती तेस्रो र सबिन कट्वालले सान्त्वना स्थान प्राप्त गर्दै नगद पुरस्कार जितेका छन् ।

विजेताहरूलाई अध्यक्ष चौधरी र कोशी प्यालेसका सञ्चालक सम्पत राईले पुरस्कृत गर्नुभयो । महोत्सवले बेलका क्षेत्रका ३० वटा पर्यटकीय स्थलहरूको प्रवद्र्धन गरेको छ । चम्पाकोटबाट देखिने मनमोहक हिमालय र सूर्योदय, जङ्गल सफारी, र ऐतिहासिक बेलका राजा–रानी दरबारका भग्नावशेष जस्ता सम्पदालाई वृत्तचित्र मार्फत विश्वभर प्रचार गर्ने लक्ष्य राखिएको छ ।

होटल तथा पर्यटन व्यवसायी संघ, उदयपुर विकास समिति र नगरपालिकाको संयुक्त आयोजनामा सम्पन्न यो कार्यक्रमले बेलकाको प्राकृतिक र सांस्कृतिक पहिचानलाई अन्तर्राष्ट्रियस्तरमा ब्राण्डिङ गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।