इटहरी । बगाले थापा क्षेत्री कल्याणकारी परिषद भोजपुरको १४ औं वार्षिक साधारण सभा तथा ७ औं जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
सोमबार परिषदका केन्द्रीय अध्यक्ष प्रल्हाद थापाको प्रमुख आतिथ्यतामा हतुवागढी गाउँपालिका वडा नम्बर २ लुङ्गिन स्थित जिल्ला शाखाको नवनिर्मित भवन उद्घाटनसँगै अधिवेशन सम्पन्न गरिएको हो । दुई तले उक्त भवन प्रदेश सरकारबाट २७ लाख, गाउँपालिका र वडाबाट १२ लाख र बाँकी रकम बगाले थापा समुदायबाट सङ्कलन गरी कुल ६९ लाख रुपैयाँ लागतमा निर्माण गरिएको परिषदले जनाएको छ । शुभकामना मन्तव्यका क्रममा बोल्दै कोशी प्रदेशका पूर्वराज्यमन्त्री एवं प्रदेश सांसद सिर्जना राईले ग्रामीण क्षेत्रको विकासका लागि केन्द्रीयस्तरका संघसंस्था गाउँमै स्थापना गर्नुपर्ने बताउनुभयो ।
साथै भोजपुरको विकासका लागि चुवार पुल समयमै निर्माण नहुँदा स्थानीयले सास्ती भोग्नु परेको उल्लेख गर्दै त्यसको समाधानका लागि आफूले निरन्तर पहल र समन्वय गरिरहेको उल्लेख गर्नुभयो । परिषदले हरेक वर्ष जेष्ठ नागरिक सम्मान र विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ । यस वर्ष पनि जेष्ठ नागरिक र शिवालय मन्दिरका पुजारीलाई सम्मान गर्नुका साथै हतुवागढी गाउँपालिका भित्रका सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न, जेहेन्दार तथा उत्कृष्ट ६० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ । विद्यार्थीलाई उच्च शिक्षामा प्रोत्साहन गर्न अक्षयकोष मार्फत केन्द्रबाट २ लाख ६ हजार र जिल्ला शाखाबाट ७४ हजार रुपैयाँ गरी कुल २ लाख ८० हजार रुपैयाँ वितरण गरिएको जिल्ला अध्यक्ष विचारी थापाले जानकारी दिनुभयो ।
कार्यक्रममा कोशी प्रदेश सरकारका पूर्व राज्यमन्त्री तथा प्रदेश सांसद सिर्जना राई, गाउँपालिका अध्यक्ष प्रेमकुमार राई, शिक्षाविद ईश्वरमान राई तथा परिषदका केन्द्रीय उपाध्यक्ष डिकबहादुर थापा लगायतको उपस्थिति रहेको थियो। यसैबीच, सम्पन्न सातौँ जिल्ला अधिवेशनबाट परिषद जिल्ला शाखा भोजपुरको अध्यक्षमा पुनः विचारी थापा चयन हुनुभएको छ । सर्वसम्मत रुपमा थापाको अध्यक्षतामा ९ सदस्यीय जिल्ला शाखा समिती गठन गरिएको हो ।


