इटहरी । नेपाल केरा उत्पादक महासंघले केराको बजारीकरणका क्रममा बिचौलियाको हस्तक्षेप अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

महासंघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै किसानले बारीबाट बेच्दा भन्दा बजारमा पाँच गुणा सम्म महङ्गोमा केरा बिक्रि बितरण भइरहेको भन्दै बजारमा देखिएको बिचौलियाको अत्याधिक हस्तक्षेप अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।

किसानले बारीबाट स्थानीय जात(मालभोग) ७० देखि ८५ प्रति दर्जन र हाइव्रिड जातको ५० देखि ६० प्रतिदर्जनमा बिक्रि गरिरहेको महासंघले जनाएको छ । तर त्यहि केरा आम उपभोक्ताले ३५० देखि ४ सय रुपैया सम्ममा किन्नुपर्ने अवस्था बिचौलिका कारण नै आएको महासंघका अध्यक्ष विष्णुहरि पन्तले बताउनुभयो । उहाले राज्यले तत्काल बजारमा हस्तक्षेप गरि अनावश्यक रुपमा भएको मूल्यबृद्धि नियन्त्रण गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै अध्यक्ष पन्तले केराको आयातमा नियन्त्रण गर्ने सरकारको कदम सराहनीय र प्रशंसनीय रहेकाले कुनै पनि बहानामा विदेशी केरा आयात खुलाउन नहुने धारणा राख्नुभयो । उहाले राज्यले सहि नीति र प्रभावकारी बजार व्यवस्थापन गर्न सके आगामी दुई बर्षभित्र केरामा पूर्ण आत्मनिर्भर बन्न सकिने बताउनुभयो ।

उहाले बार्षिक ९ लाख मेट्रिक टन केरा खपत हुने गरेकामा करिव ७ लाख मेट्रिक टन केरा उत्पादन भइरहेको जानकारी दिनुभयो । महासंघले बजार अनुगमन प्रभावकारी बनाउन, केराको न्यूनतम समर्थन मूल्य निर्धारण गर्न समेत माग गरेको छ ।