इटहरी । उदयपुरको चौदण्डीगढी नगरपालिका–७ बेल्टार बजारस्थित वाणिज्य बैंक लाइन क्षेत्रमा मंगलबार राति भएको भीषण आगलागीबाट प्रभावित परिवारलाई कोशी प्रदेश सरकारले राहत उपलब्ध गराएको छ ।
बुधबार कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री उमाकान्त गौतम पीडितहरू बसिरहेको अस्थायी आश्रयस्थलमै पुगेर राहत सामग्री हस्तान्तरण गर्नुभएको हो । प्रदेश सरकारबाट दाल, चामल, लत्ताकपडा, त्रिपाल, बाल्टी लगायतका अत्यावश्यक सामग्री उपलब्ध गराइएको छ । मंगलबार रातिको आगलागीमा परी ७० वर्षीय लक्ष्मीनारायण खड्का र उनका नाति पवन खड्काको जलेर मृत्यु भएको थियो।
घरभित्रै रहेका उनीहरू आगोले चारैतिरबाट घेरेपछि बाहिर निस्कन नपाई ज्यान गुमाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ । प्रहरीका अनुसार विद्युत् सर्टका कारण आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ । काठबाट बनेका घर भएकाले आगो तीव्र रूपमा फैलिएको थियो । आगलागीबाट कुल करिब ६३ लाख रुपैयाँ बराबरको क्षति भएको बताइएको छ ।
आगलागीमा जलेर मृत्यु हुने एक जनालाई १ लाख रुपैयाँ र एकै परिवारका थप सदस्यको मृत्यु भएमा थप ५० हजार रुपैयाँका दरले राहत उपलब्ध गराउने प्रदेश सरकारको नीतिअनुसार एकै परिवारका दुई जनाको मृत्यु भएको हुँदा उक्त परिवारले पाउने १ लाख ५० हजार रुपैयाँ राहत रकम प्रदेश सरकारले जिल्ला प्रशासन कार्यालयको खातामा जम्मा गरिसकेको राज्यमन्त्री गौतमले जानकारी दिनुभयो । त्यसैगरी १० लाख रुपैयाँभन्दा बढी क्षति भएका परिवारलाई प्रदेश सरकारको नियम अनुसार घर पुनःनिर्माणका लागि उपलब्ध गराइने ५० हजार रुपैयाँ थप राहत रकम केही समयपछि प्रदान गरिने उहाँले बताउनुभयो ।


