इटहरी । लायन्स क्लब अफ इटहरी स्मार्टसिटीकी अध्यक्ष रञ्जना शर्माको प्रेरणादायी तथा संवेदनशील नेतृत्वमा भद्रपुर नगरपालिका–९, झापास्थित एक अति विपन्न चौधरी परिवारका लागि पक्की घर तथा शौचालय निर्माण गरी हस्तान्तरण गरिएको छ।
लायन्स अन्तर्राष्ट्रियको ‘मिसन १।५’ अभियान अन्तर्गत सम्पन्न यो परियोजना एक १० वर्षीया बालिकामाथि भएको पीडादायी घटनाबाट उत्पन्न मानवीय संवेदनाको परिणाम हो। उक्त घटनाले गहिरो असर पारेपछि अध्यक्ष शर्माले व्यक्तिगत रूपमा अग्रसरता लिँदै सुरक्षित आवास निर्माणको पहल गर्नुभएको हो।
परियोजनालाई सफल बनाउन अध्यक्ष शर्माले व्यक्तिगत रूपमा रु। २ लाख २८ हजार ५४० सहयोग गर्नुभयो भने क्लबमार्फत थप रु। १ लाख संकलन गरिएको थियो। उहाँको दृढ इच्छाशक्ति र नेतृत्व क्षमताले अन्य सदस्यहरूलाई समेत प्रेरित गर्दै ३६ भन्दा बढी सदस्यहरूको सहकार्यमा कुल रु। ५ लाख ८९ हजार लागतमा घर निर्माण सम्पन्न भएको हो।
नयाँ घर प्राप्त गरेपछि चौधरी परिवारले खुशी व्यक्त गर्दै अध्यक्ष रञ्जना शर्मा तथा सम्पूर्ण सहयोगीप्रति कृतज्ञता प्रकट गरेको छ। यो परियोजना अध्यक्ष शर्माको मानवीय नेतृत्व, समर्पण र समाजप्रतिको उत्तरदायित्वको एक उत्कृष्ट उदाहरण बनेको छ।


