इटहरी। खोटाङलाई तराईसँग जोड्ने सुनकोशी नदीमा रहेको बंशिलाघाट र फोक्सिन्टारका दुवै बेलिब्रिज हटाउने तयारी गरिएको छ।
नदीमा पानीको बहाव निरन्तर बढेसँगै दुवै स्थानका अस्थायी बेलिब्रिज निकाल्ने तयारी गरिएको हो। बेलिब्रिज हटाइएपछि तराईसँग खोटाङको सिधा यातायात पुनः अवरुद्ध हुने भएको छ। बंशिलाघाटमा गत माघ २४ गते पहिलो पटक बेलिब्रिज जडान गरी सिधा यातायात सञ्चालनमा ल्याइएको थियो। तर, मौसम परिवर्तनसँगै परेको वर्षाले सुनकोशीमा पानीको सतह बढेपछि वैशाख मसान्तसम्म बेलिब्रिज हटाउन निर्माण व्यवसायीलाई पत्राचार गरिएको पूर्वाधार विकास कार्यालय दिक्तेलका प्रमुख विनम दाहालले बताउनुभयो।
यस्तै, फोक्सिन्टारको बेलिब्रिज पनि वैशाख मसान्तपछि पूर्णरूपमा यातायात बन्द गरी हटाउने तयारी गरिएको गाईघाट–दिक्तेल सडक योजना कार्यालयका सूचना अधिकारी सुमन गोलेले जानकारी दिनुभयो। हाल यी दुई नाकाबाट सवारी साधन सञ्चालन भइरहेका छन्। तर बेलिब्रिज हटाइएपछि खोटाङका नागरिक पुनः पुरानै सास्तीमा पर्नेछन्। वैशाख मसान्तपछि नागरिकले झोलुङ्गे पुलको सहारामा कोशी वारपार गर्नुपर्ने बाध्यता हुने छ।
बंशिलाघाटस्थित सुनकोशीमा जडान गरिएको अस्थायी बेलिब्रिजले खोटाङको दक्षिणी क्षेत्रलाई तराईसँग जोडेको थियो। खोटाङको वराहपोखरी गाउँपालिका–५ पौवासेरा र उदयपुरको चौदण्डीगढी नगरपालिका–१ लाई जोड्ने उक्त बेलिब्रिजले पहिलो पटक दक्षिणी क्षेत्रलाई सिधा सडक सञ्जालमा जोडेको थियो।
यसले जन्तेढुङ्गा, वराहपोखरी र खोटेहाङ गाउँपालिकाका साथै भोजपुरका केही क्षेत्रका नागरिकलाई केही समयका लागि सहज आवतजावतको सुविधा दिएको थियो। कोशी प्रदेश भौतिक पूर्वाधार विकास कार्यालयबाट १ करोड ८७ लाखमा खरिद गरिएको बेलिब्रिज गुरुकुल बिल्डर्स एन्ड सप्लायर्स प्रालि रौतहटले करसहित ५७ लाखमा जडान गरेको हो। सोही कम्पनीले सम्झौता अनुसार वैशाख मसान्तसम्ममा बेलिब्रिज हटाउने छ।
उक्त स्थानमा मोटरेबल पक्की पुल निर्माणका लागि १९ करोड १८ लाख ४१ हजार ४ सय लागतमा ३३ महिनाभित्र सम्पन्न गर्ने गरी २०७९ मङ्सिर १ गते कालिका–वेदांसी जेभीसँग सम्झौता गरिएको थियो। तर पुल निर्माणमा ढिलासुस्ती भइरहेको छ। यसैगरी, खोटेहाङ गाउँपालिका–९, लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५, आँपटार जोड्ने फोक्सिन्टारस्थित पक्की पुल गत वर्ष असोज १२ गतेको बाढीले बगाएपछि अस्थायी बेलिब्रिज जडान गरिएको थियो। उक्त बेलिब्रिज पनि हटाइएपछि जेठ १ गतेदेखि सिधा यातायात पूर्णरूपमा अवरुद्ध हुने छ।
गाईघाट–दिक्तेल सगरमाथा राजमार्ग अन्तर्गत पर्ने दिक्तेल–फोक्सिन्टार–गाईघाट सडक पूर्वी सहर जाने छोटो दूरीको मार्ग हो। आर्यान कन्स्ट्रक्सन मल्टिपर्पोज कम्पनीले ९६ लाख ७७ हजार ९३७ रुपियाँमा बेलिब्रिज जडान तथा हटाउने ठेक्का लिएको हो। फोक्सिन्टारमा सवारी साधन सञ्चालन नहुँदा खोटाङका नागरिकलाई घुर्मी, कटारी हुँदै लामो दूरीको सडक प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ। बाढीले बगाएको पक्की पुल पुनर्निर्माणको प्रक्रिया अझै टुङ्गोमा पुगेको छैन।


