इटहरी । बुधबार साँझ आएको हावाहुरी सहितको वर्षाले पाँचथरका विभिन्न स्थानमा घरमा क्षति पुर्याएको छ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार साँझ ५ बजे आएको हावाहुरीका कारण दर्जन बढि घरमा क्षति भएको हो। मानविय तथा चौपाया क्षति भने नभएको प्रहरीले जनाएको छ। फिदिम नगरपालिका–१ शनिवारेस्थित टिकाराम भट्टराईको दुईतले घरको छानो उडाएको छ । सोही घरमा सञ्चालनमा रहेको किराना पसलका सामान, अन्नपात तथा लत्ताकपडासमेत नोक्सान भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।
जहाँ १ लाख ८० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ। सात सदस्यीय परिवार हाल सोही स्थानमा अस्थायी रूपमा पाल टाँगेर बसिरहेको छ। त्यस्तै, फिदिम नगरपालिका–१ किराँत चोकका मदनकुमार नेम्वाङको पक्की घरको माथिल्लो तलाको टिनको छाना र काठ उडाउँदा करिब १ लाख रुपैयाँ बराबरको क्षति भएको छ। उनको १२ सदस्यीय परिवार भने तल्लो तलामै सुरक्षित रहेको प्रहरीले जनाएको छ।
हावाहुरीपछि स्थानीय प्रशासन र प्रहरी टोलीले क्षतिग्रस्त क्षेत्रमा पुगेर आवश्यक अनुगमन तथा समन्वय गरिरहेको जनाइएको छ। जिल्लाको हिलिहाङ गाउँपालिका २ कुवापानी टोल मा पनि केही घरमा क्षति पुगेको छ ।यस्तै फिदिम नगरपालिकाका विभिन्न वडा फालेलुङ गाउँपालिका र याङवरक गाउँपालिकाका विभिन्न स्थानमा हावाहुरीका कारण ठूलो परिमाणमा घर र विद्यालयमा क्षति पुगेको छ। क्षतिको यकिन विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।


