इटहरी । ताप्लेजुङमा गोलिया काठ र जडीबुटीजन्य वस्तु निकासीबाट करिब साढे पाँच करोड रुपियाँ राजस्व सङ्कलन भएको छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्मको नौ महिनाको अवधिमा डिभिजन वन कार्यालयले उक्त राजस्व सङ्कलन गरेको हो । डिभिजन वन कार्यालय ताप्लेजुङका निमित्त डिभिजनल वन अधिकृत ललितकुमार यादवका अनुसार गोलिया काठ र जडीबुटी निकासीबाट कुल पाँच करोड ४३ लाख ९९ हजार २१२ रुपियाँ राजस्व सङ्कलन भएको छ । कुल रकममध्ये गोलिया काठ निकासीबाट मात्रै पाँच करोड ३९ लाख ४४ हजार ४३१ रुपियाँ राजस्व प्राप्त भएको यादवले जानकारी दिनुभयो ।

गोलिया काठ निकासीबाट सङ्कलन भएको राजस्वमध्ये सङ्घीय सरकारको खातामा जम्मा हुने मूल्य अभिवृद्धि कर ९भ्याट० तर्फ चार करोड ६२ लाख ३१ हजार ८०३ रुपियाँ रहेको छ । त्यस्तै, प्रदेश सेवा शुल्कतर्फ ७७ लाख १२ हजार ६२८ रुपियाँ राजस्व सङ्कलन भएको निमित्त डिभिजनल वन अधिकृत यादवले बताउनुभयो । यसैगरी, जडीबुटीजन्य वस्तु निकासीबाट सङ्कलित राजस्वमध्ये सङ्घीय सरकारको खातामा चार लाख ३३ हजार १२५ रुपियाँ जम्मा भएको छ भने प्रदेश सेवा शुल्कअन्तर्गत २१ हजार ६५६ रुपियाँ सङ्कलन भएको छ ।

डिभिजन वन कार्यालयका अनुसार चैत मसान्तसम्ममा १३ लाख ७७ हजार ४८२ दशमलव ८५ क्युबिक फिट काठ निकासी भएको छ । विशेष गरी उत्तिस, चिलाउने, मलातोलगायत प्रजातिका गोलिया काठ निजी वन तथा जङ्गलबाट निकासी हुने गरेको छ । जडीबुटीतर्फ सोही अवधिमा ५१ हजार ५९० किलोग्राम वस्तु निकासी भएको छ । यादवका अनुसार धुपीको पात, चिराइतो, सुनपाती, अर्गेली, लोक्ता, चुत्रो र भिरमौरीको मह राष्ट्रिय तथा सामुदायिक वनबाट सङ्कलन गरी निकासी गरिएको हो ।