इटहरी । ग्रामिण क्षेत्रमा जीविकोपार्जन सुधार, जैविक विविधता संरक्षण र दिगो कृषिलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ सुनसरीमा “तल्लो तमोर ल्यान्डस्केप संरक्षण परियोजना” को औपचारिक उद्घाटन गरिएको छ ।
सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं. १ मा आयोजित एक विशेष समारोहका बीच उक्त परियोजनाको शुभारम्भ गरिएको हो । दुहबी–२ स्थित ग्रामिण महिला उत्सुकता विकास मञ्चको आयोजना तथा जापान सरकारको वातावरण मन्त्रालय, यूएनडीपी, र कमडेक्स लगायतका विभिन्न अन्तर्राष्ट्रिय साझेदार संस्थाहरूको प्राविधिक तथा वित्तीय सहयोगमा सञ्चालित यस कार्यक्रमको उद्घाटन प्रमुख अतिथि एवं नगर उपप्रमुख नन्द कुमारी सुनुवारले गर्नुभएको थियो।
कार्यक्रममा वडा नं. २ का अध्यक्ष होम प्रसाद गौतम र मञ्चका कार्यकारी निर्देशक द्रव्य राज चौधरीको उपस्थिति रहेको थियो भने अध्यक्षता राजकुमारी चौधरीले गर्नुभएको थियो। स्थानीय उत्पादनको प्रवद्र्धन र महिला सशक्तीकरणलाई मुख्य लक्ष्य राखेको यस परियोजनाबाट प्रारम्भिक चरणमा करिब १ हजार किसान लाभान्वित हुने अपेक्षा गरिएको छ । हाल ३६ कट्टा जग्गामा सजिवन (मोरिङ्गा) खेती विस्तार भइसकेको यस योजना अन्तर्गत बेसार, केरा, मेवा र अम्बा जस्ता बालीहरूको व्यावसायिक खेती र बजार व्यवस्थापनमा जोड दिइनेछ ।
सुरुवाती चरणमा संस्थाको निगरानीमा रहने यो परियोजना भविष्यमा किसानहरूको क्षमता अभिवृद्धि गरी उनीहरूलाई नै हस्तान्तरण गरिने लक्ष्य राखिएको छ । जसले स्थानीय स्तरमा आयआर्जन र वातावरणीय संरक्षणमा ठोस योगदान पु¥याउने विश्वास गरिएको छ ।


