इटहरी । पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गतको बहुप्रतीक्षित काँकडभिट्टा–लौकही सडक विस्तार योजना निर्माण सामग्रीको अभाव, इन्धन आपूर्तिमा समस्या र संरचना स्थानान्तरणमा भएको ढिलाइका कारण तोकिएको समयमा योजना सम्पन्न नहुने भएको छ ।

२०८३ साल कात्तिक महिनाभित्र निर्माण सम्पन्न गर्नुपर्ने यो आयोजनाको प्रगति सामान्यतया प्रतिमहिना चार प्रतिशतले बढ्नुुपर्नेमा हालसम्म ४२ प्रतिशत मात्र भौतिक प्रगति भएको छ । निर्माण सुरु हुँदाभन्दा मध्यतिर निर्माण प्रगति उच्च दरमा वृद्धि हुने गर्छ । अलकत्रा, गिट्टी, माटोकोे अभाव, इन्धन आपूर्तिमा समस्या र बिजुलीका पोल र खानेपानीका पाइप स्थानान्तरणमा जटिलता आएपछि लक्ष्य अनुसार भौतिक प्रगति भएको छैन । तुङ्दी जेभीका परियोजना व्यवस्थापक डोरमणि पौडेल र प्रोजेक्ट कोअर्डिनेटर राहुल हेक्काका अनुसार हालसम्म पश्चिम खण्डको सडकको कुल ४० किलोमिटरमध्ये हालसम्म १३ किलोमिटर कालोपत्रे भइसकेको छ भने सात किलोमिटर सडक कालोपत्रे हुने तयारी छ ।

निर्माणमा भइरहेको अवरोधबारे जानकारी दिँदै परियोजना व्यवस्थापक पौडेलले भन्नुभयो, “दैनिक १० देखि १२ हजार लिटर डिजेल आवश्यक पर्नेमा नेपाल आयल निगमले चार हजार लिटर मात्र उपलब्ध गराइरहेको छ । जसले कामको गतिलाई नै प्रभावित पारेको छ । यस वर्षका लागि माग गरिएको पाँच हजार टन बिटुमिन (अलकत्रा) पनि इरान–इजरायल द्वन्द्व र अन्तर्राष्ट्रिय आपूर्तिमा देखिएको समस्याका कारण रोकिएको छ । गुणस्तरीय गिट्टी, चिप्स र माटोको अभावले पनि कामलाई थप सुस्त बनाएको छ ।

आयोजनाका लागि करिब ८० हजार घनमिटर गिट्टी आवश्यक पर्नेमा लेटाङ नगरपालिकाबाट हालसम्म १५ हजार घनमिटर मात्र निर्माण सामग्री उपलब्ध भएको छ । मिक्लाजुङ गाउँपालिकाबाट दुई लाख घनमिटर निर्माण सामग्रीको सुनिश्चितता भएको छ । यो परिमाणबाट गुणस्तरीय गिट्टी, चिप्स थोरै मात्र निस्कन्छ । आयोजनालाई तत्काल आठ लाख ५० हजार घनमिटर सबबेसका लागि र वालको बिचमा भर्न माटो आवश्यक परेको छ । माटोसमेत उपलब्ध नभएको निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर पौडेलले बताउनुभयो । 

आयोजनाका विभिन्न खण्डको प्रगतिको अवस्थाबारे जानकारी दिँदै काँकडभिट्टा–लौकही सडक योजना पश्चिम खण्ड कार्यालय इटहरीका योजना प्रमुख जगत प्रजापतिका अनुसार नौ अर्ब १३ करोड ८२ लाख रुपियाँमा ठेक्का लागेको यो खण्डले निर्माण क्षेत्र समयमा नै खाली गर्न सक्दा समयमा काम सम्पन्न गर्न सकिने सन्देश दिएको छ । तेस्रो खण्ड(गोठगाउँ–लबिपुर) को अवस्था भने अत्यन्तै सुस्त छ । २०८० माघ १९ गतेबाट काम सुरु भएको १०।७६ किलोमिटरको यो खण्डमा इटहरीको मुख्य बजार क्षेत्र पर्ने भएकाले माटो भरेर सडक बनाउने वा ओभरपास निर्माण गर्ने भन्ने विवादले कामलाई लामो समयसम्म अल्झाएको थियो ।

चार अर्ब सात करोड ३५ लाख रुपियाँमा ठेक्का लागेको यस खण्डले आयोजनाको समग्र प्रगतिमा नै असर पु(याएको देखिन्छ । यो खण्डमा हालसम्म २२ प्रतिशत मात्र भौतिक प्रगति भएको छ । यसै गरी पश्चिम खण्डमा पर्ने रतुवा, बव्रmाहा र लोहन्द्रा खोलामा निर्माण भइरहेका तीन वटा पुलको निर्माण सन्तोषजनक अवस्थामा अघि बढिरहेको छ । पाँच अर्ब ६५ करोड २६ लाख रुपियाँमा ठेक्का लागेका यी पुलको भौतिक प्रगति ३२ प्रतिशत भएको छ । रतुवा पुलमा ८० मिटरको एक स्पानको काम अन्तिम चरणमा पुुगेको योजना प्रमुख प्रजापतिले जानकारी दिनुुभयो ।