इटहरी । तमोर कोरिडोर सडक अन्तर्गत धनकुटाको मूलघाटदेखि पाँचथरको गणेश चोकसम्म ११० किलोमिटर सडकमध्ये ७३ किलोमिटर कालोपत्रे भइसकेको छ ।
बाँकी सडक पनि कालोपत्रेका लागि तयार गरिएको छ । सडक निर्माणको काम द्रुत गतिमा अघि बढे पनि सडकमा पर्ने पुल निर्माण भने निक्कै सुस्त गतिमा भइरहेको छ । ताप्लेजुङ–तराई जोड्ने तमोर कोरिडोर सडकमा पर्ने पुल निर्माणमा ढिलाइ हुँदा यात्रुले सास्ती खेप्दै आएका छन् । पुल नहुँदा खोलामा आउने आकस्मिक बाढीका कारण सवारीसाधन बिच बाटोमै अलपत्र पर्ने गरेका यात्रु अनुप निरौला बताउनुहुन्छ ।
यो सडकखण्डमा पर्ने आठ वटा पुल अहिलेसम्म निर्माण सम्पन्न हुन सकेका छैनन् । तमोर कोरिडोर सडकमा निर्माणाधीन पुलमध्ये छरुवाखोलामा ७५ प्रतिशत, नावाखोलामा ५० प्रतिशत, लखुवा र रघुवाखोलामा २७ प्रतिशत तथा कम्बुवाखोलामा २५ प्रतिशत प्रगति भएको छ । हेवा, लारिप्पा र वगुवाखोलामा भने पुल निर्माण सुरु नै भएको छैन । बजेट अभाव र निर्माण कम्पनीको लापर्बाहीका कारण निर्माणमा ढिलाइ भएको पुल सेक्टर कार्यालय धरानले जनाएको छ ।
छरुवाखोलाको पुल आगामी असार मसान्तसम्म, नावा, लखुवा, लारिप्पा र हेवाखोलाका पुल आगामी फागुन मसान्तसम्म तथा वगुवा, कम्बुवा र रघुवाखोलाका पुल आगामी वैशाख १९ गतेसम्म सम्पन्न गर्ने सम्झौता रहेको पुल सेक्टर कार्यालय धरानका इन्जिनियर नवीन शाहले जानकारी दिनुभयो । छरुवाखोलाको पुल निर्माणका लागि लुम्बिनी रौता खानी जेभीले १७ करोड २३ लाख ७९ हजार रुपियाँमा र नावा, लखुवा, हेवा र लारिप्पा खोलामा पुल निर्माणका लागि शर्मा सगुन जेभीले ३७ करोड २१ लाख ५३ हजार रुपियाँमा सम्झौता भएको थियो ।
वगुवा, कम्बुवा र रघुवाखोलाका पुल निर्माणका लागि कुमार श्रेष्ठ स्वामीनारायण आशीर्वाद जेभीले २२ करोड ५२ लाख ७५ हजार रुपियाँमा ठेक्का पाएको छ । तीन वटै सम्झौता २०७८ साल फागुनमा भएको भए पनि हालसम्म पुल निर्माणको प्रगति जति हुनुपर्ने हो हुन सकेको छैन । बाढीले पटक पटक बगाउँदा र निर्माण कम्पनीको लापर्बाहीले पुल निर्माणमा ढिलाइ भएको स्थानीय महेन्द्र न्यौपाने बताउनुहुन्छ ।
यो सडक ताप्लेजुङ, पाँचथरसहित धनकुटा र तेह्रथुमका तढतिर क्षेत्रका बासिन्दालाई तराईसँग जोड्ने मुख्य र छोटो मार्ग हो । पुल समयमै निर्माण नहुँदा बर्खाको धेरै समय नदीमा आएको बाढीका कारण बन्द हुने गरेको छ ।


