इटहरी । भोजपुरको अरुण गाउँपालिका–३, प्याउलीमा अवस्थित अरुण बहुमुखी क्याम्पस को शैक्षिक गुणस्तर सुधार र भौतिक पूर्वाधार विकासका लागि बृहत् आर्थिक सहयोग सङ्कलन अभियानको औपचारिक सुरुवात गरिएको छ ।
पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस सामुदायिक क्याम्पसलाई यस क्षेत्रकै नमुना शैक्षिक केन्द्र बनाउने लक्ष्यका साथ गाउँपालिका अध्यक्षको संयोजकत्वमा सातै वडामा अभियान थालिएको हो। अभियानको पहिलो दिनमै स्थानीय दाताहरूबाट उत्साहजनक सहयोग प्राप्त भएको छ। सहयोग गर्नेहरूमा कुमार कार्की, शिवराज सापकोटा, नारायण प्रसाद खनाल, केशर बहादुर कार्की, रुद्र बहादुर पुलामी र दिवस राईले ५१ हजार रुपैयाँभन्दा बढी योगदान गर्नुभएको छ भने अन्य धेरै दाताहरूले पनि स्वस्फूर्त रूपमा आर्थिक सहयोग उपलब्ध गराउनुभएको छ ।
दाताहरूको योगदानको कदर गर्न क्याम्पसले सम्मानका विभिन्न आधारहरू तय गरेको छ । जसअनुसार न्यूनतम १ हजारदेखि अधिकतम १ करोड रुपैयाँभन्दा माथि सहयोग गर्नेलाई साधारण सदस्यदेखि ‘यशस्कर’ सम्मका मानपदवी प्रदान गरिनेछ। सहयोग राशिका आधारमा शिलालेखमा नाम राख्ने, दोसल्ला ओढाउने, कार्यालयमा फोटो सजाउने र संरक्षक तथा संस्थापकको उपाधि दिने व्यवस्था गरिएको छ।
हाल स्नातक तहमा शिक्षा र व्यवस्थापन संकाय सञ्चालन भइरहेको यस क्याम्पसको दिगो आर्थिक आधार तयार गरी गुणस्तरीय शिक्षा सुनिश्चित गर्न यो अभियान कोशेढुङ्गा सावित हुने विश्वास लिइएको छ क।


