इटहरी। कोशी प्रदेश सरकारले इटहरी उपमहानगर पालिका वडा नम्बर ५ मा बनाएको ‘काव्य बाटिका फन पार्क’ हराएको छ ।
प्रदेश सरकारको पर्यटन बन तथा वातावरण मन्त्रालयले ६० लाख रुपैयाँ खर्च गरेर बनाएको काव्य बाटिका फन पार्क हराएको हो । निर्माण गरिएको स्थानमा अहिले फन पार्कको कुनै पनि अस्तित्व छैन । प्रदेश सरकारले उपभोक्ता समिति आर्थिक वर्ष ७६र७७ मा काव्य बाटिका फन पार्क बनाएको थियो । तत्कालीन प्रदेश नम्बर १ सरकारले उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालय अन्तरगतको पर्यटन विकास आयोजना मार्फत हालेको ६० लाख रुपैयाँ र उपभोक्ता समितिले श्रमदान बापत गरेको ६ लाख ९३ हजार २७१ रुपैयाँमा बनेको पार्कको अहिले कुनै पनि अस्तित्व छैन ।
स्थानीय श्याम चौधरीको अध्यक्षतामा बनेको काव्य बाटिका फन पार्क उपभोक्ता समितिले २०७६ साल फागुन ११ गतेबाट पार्क निर्माणको सुरु गरेको थियो । ७७ साल असार १५ गते काम सम्पन्न गरी हर हिसाब समेत फर फराक भएको थियो । उपभोक्ता समितिका अध्यक्ष श्याम चौधरीले काव्य बाटिका फन पार्कमा बाटो, फलैँचा र शौचालय लगायतका संरचना बनाइएको बताए । उनले पर्यटन विकास आयोजनाको ६० लाख र उपभोक्ता समितिको ६ लाख ९३ हजार २७१ रुपैयाँमा काव्य बाटिका फन पार्क बनाइएको बताए ।
प्रदेश सरकारले बनाएको पार्कमा इटहरी उप महानगरपालिकाले वडा कार्यालय र इटहरी सभा हल निर्माण गरेकोले फन पार्कको अस्तित्व पुरै मेटिएको चौधरीले बताए । इटहरी नगरपालिकाको ३ विगाह १९ कट्ठा जग्गामा प्रदेश सरकारले काव्य बाटिका फन पार्क बनाउन बजेट हालेको थियो । २०५७ साल तिर इटहरीका कवि साहित्यकारहरूले सरकारी जग्गामा काव्य बाटिका बनाएका थिए ।
कव्य बाटिका भित्र मूर्तिकलाका कार्यशाला हुने गरेको थियो । सो कार्यशालामा दक्षिण एसियाका मूर्तिकार आएर मूर्तिकला कार्यशाला गर्ने गरेका थिए । यस्तै त्यहाँ विभिन्न साहित्यिक कार्यक्रम समेत हुने गरेको थियो । तर आन्तरिक विवादका कारण काव्य बाटिकाका परिकल्पनाकार मूर्तिकार विक्रम श्रीलाई त्यहाँबाट हटाइएपछि काव्य बाटिका प्रयोग विहीन भएको थियो । लथालिङ्ग अवस्थामा रहेको सो स्थानलाई प्रदेश सरकारले पर्यटकीय स्थल बनाउन उद्देश्यले आर्थिक वर्ष ७५ र७६ सालमा काव्य बाटिका फन पार्कका नाममा बजेट विनियोजन गरेको थियो ।
प्रदेश सरकारले बहुवर्षीय योजना अन्तरगत प्रदेशकै पर्यटकीय स्थल बनाउन बजेट विनियोजन गरेको इटहरी उप महानगरले वडा कार्यालय बनाउन सुरु गरे पछि प्रदेशले बजेट विनियोजन गरेको थिएन । कव्य बाटिकामा सङ्घीय सरकारले ७५ लाख रुपैयाँ विनियोजन गरेर कम्पाउन्ड वाल लगाएको थियो । प्रदेश सरकारले पर्यटकीय स्थल बनाउनका लागि बजेट विनियोजन गरेपछि इटहरी उप महानगरले सोही स्थानमा वडा नम्बर ५ को कार्यालय बनाएको थियो वडा अध्यक्ष भीष्म घिमिरेले बताए । उनले वडा कार्यालय बनेपछि फन पार्कका केही भाग पुरिएको घिमिरेले बताए ।
वडा कार्यालय बनेपछि फन पार्क मिचियो । बाँकी भागमा इटहरी उप महानगरपालिकाले इटहरी सभागृह बनाउन थालेपछि प्रदेश सरकारले बनाएको फन पार्कको अस्तित्व हराएको बताए । उनले प्रदेश सरकारले बजेट विनियोजन गरेर काम सम्पन्न भइसकेपछि सभागृह र वडा कार्यालय बनाउन पर्ने कारण भने बताएनन् । अहिले सभा गृह निर्माणाधीन अवस्थामा रहेको छ । सभागृह निर्माणको काम यसै आर्थिक वर्षमा सक्नु पर्ने भए पनि २० प्रतिशत पनि काम सम्पन्न नभएको इटहरी उप महानगरले जनाएको छ ।


