इटहरी। फरवार्ड माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको १३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सुनसरीको दुहवीमा आयोजित साधारणसभा पूर्वमन्त्री भगवती चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । 

सो अवसरमा बोल्दै लघुवित्तकर्मी समेत रहनु भएकी पूर्वमन्त्री चौधरीले ग्रामीण महिला उत्सुकता विकास मञ्च ९फरवार्ड०ले तीन दशकदेखि सुरुवात गरेको लघुवित्त कार्यक्रममा आबद्ध भएका महिला दिदीबहिनीको आर्थिक, सामाजिक तथा राजनीतिक अवस्थामा  सकारात्मक परिवर्तन आएको देखिनु नै यस कार्यक्रमको सफलता भएको बताउनुभयो। राज्यले कहिल्यै ऋण मिनाहा गर्न नसक्ने भएकाले गलत तत्वका पछि नलाग्न लघुवित्त सदस्यलाई सुझाव दिँदै चौधरीले आफूले लिएको कर्जालाई उत्पादन हुने क्षेत्रमा मात्र लगानी गर्न आग्रह गर्नुभयो । लघुवित्त क्षेत्रको सुधारका लागि सञ्चालक, कर्मचारी र ग्राहक सदस्य ३ वटै पक्ष इमानदार हुनुपर्ने प्रमुख अतिथि चौधरीको विचार थियो।

कार्यक्रमका विशिष्ट अतिथि गढी गाउँपालिकाका प्रमुख आशनारायण चौधरीले फरवार्ड लघुवित्त संस्थाले विपन्न परिवारको आर्थिक उन्नतिमा अझ ठुलो भूमिका खेल्न सक्ने धारणा व्यक्त गर्नुभयो । सभामा बोल्दै निवर्तमान सञ्चालक आशुतोष शर्मा सापकोटाले आन्तरिक तथा बाह्य कारणबाट लघुवित्त क्षेत्रमा देखापरेको नकारात्मक प्रभाव वित्तीय संस्थाहरूमा चुनौती बढ्दै गएकाले त्यसलाई सामना गर्दै अघि बढ्न आग्रह गर्नुभयो । नवनियुक्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद भट्टराईले वित्तीय संस्थाको सबलताका लागि निरन्तर लागिरहने प्रतिबद्धता जनाउनुभयो ।  संस्थाका कम्पनी सचिव विनोदकुमार चौधरीद्वारा सञ्चालित कार्यक्रममा राष्ट्रिय वाणिज्य बैँकका ट्रेजरी विभागका प्रमुख कृष्ण शाह, वित्तीय संस्थाका सञ्चालक जगतजङ्ग जिसीलगायतले मन्तव्य राख्नुभयो । सभामा ग्रामीण महिला उत्सुकता विकास मञ्चका उपाध्यक्ष कलावती चौधरी, निवर्तमान सञ्चालक कमलसिंह राजवंशी, राजकुमारी चौधरी, संस्थागत तथा व्यक्तिगत शेयरधनीलगायतको उपस्थिति थियो ।

सभाले वित्तीय संस्थाका अध्यक्ष केशवराज पौडेलद्वारा सञ्चालक समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष २०८१–८२ को वार्षिक प्रतिवेदन पारित गरेको छ। उक्त सभाले लेखापरीक्षकको प्रतिवेदनसहितको २०८२ आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त आर्थिक वर्ष २०८१–८२ को नाफा–नोक्सान हिसाब तथा नगदप्रवाह विवरण र सम्बन्धी अनुसूचीहरू, लेखापरीक्षण समितिले सिफारिस गरेबमोजिम वित्तीय संस्थाको आर्थिक वर्ष २०८१–८२ को कारोबारको लेखापरीक्षण गर्नका लागि लेखा परीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने विषयलाई पारित गरेको छ ।सभाले संस्थापक समूह र सर्वसाधारण समूहबाट सञ्चालकहरूको निर्वाचन प्रक्रियाबाट चयन गरेको छ । निर्वाचन अधिकृत प्रेमप्रसाद पोखरेलले व्यक्तिगत संस्थापक शेयर समूहका तर्फबाट भगवती चौधरी, सर्वसाधारण शेयरधनी समूहकातर्फबाट जगतजङ्ग जिसी तथा बोधराज नेपाल, एभरेस्ट बैँकको तर्फबाट विष्णुप्रसाद ज्ञवाली, ग्रामीण महिला उत्सुकता मञ्चको तर्फबाट गोविन्द चौधरी आगामी कार्यकालका लागि सञ्चालक सदस्य पदमा निर्वाचित भएको घोषणा गर्नुभएको थियो ।

सभामा विशेष प्रस्तावका रूपमा वित्तीय संस्थाको हाल कायम पुँजी संरचना संस्थापक समूह र सर्वसाधारण समूह शेयर संरचना क्रमशः ७० प्रतिशत र ३० प्रतिशत रहेकोमा संस्थापक शेयरधनीको नाममा कायम रहेको संस्थापक शेयरलाई कुल चुक्ता पुँजीको १० प्रतिशत विन्दुले सर्वसाधारण शेयर परिवर्तन गरी नयाँ शेयर समूह र सर्वसाधारण समूह क्रमशः ६० प्रतिशत र ४० प्रतिशत कायम गर्न स्वीकृत गर्ने प्रस्ताव पारित गरेको छ। सभाका अध्यक्ष केशवराज पौडेलका अनुसार वित्तीय संस्थाले २०८२ पुस मसान्तसम्म ४० जिल्लाका ३८२ स्थानीय निकायका दुई लाख ८४ हजार ५७ विपन्न परिवारमा १५९ शाखा कार्यालय मार्फत् वित्तीय सेवा दिएको छ । त्यसैगरी हालसम्म १ लाख २३ हजार ऋणी ग्राहक सदस्यसँग २२ अर्ब २४ करोड १२ लाख ३३ हजार लगानीमा बाँकी रहेको कर्जा रहेको छ ।

वित्तीय संस्थाले ग्राहक सदस्यहरूबाट १० अर्ब ७३ करोड ६९ लाख ७६ हजार बचत सङ्कलन गरेको छ । संस्थामा ६९५ कर्मचारी कार्यरत छन् । तीमध्ये ५० प्रतिशत महिला कर्मचारी रहेको र ग्राहक सदस्यहरूलाई स्वरोजगार बनाउन विभिन्न सिपमूलक तालिम प्रदान गर्ने गरिएको छ।