इटहरी । भन्सार विन्दुमा आउने तथा स्वदेश मै उत्पादन हुने सबै वस्तुमा अनिवार्य रुपमा एमआरपी अर्थात अधिकतम खुद्रा मुल्य उल्लेख गर्नुपर्ने सरकारी निर्देशनको कारण विराटनगर भन्सार कार्यालयको भन्सार राजस्व संलकन प्रभावित भएको छ । 

गत बैशाख १५ गते देखि एमआरपी अनिवार्य गरिएपछि विराटनगर भन्सार नाका र भारतीय सीमा क्षेत्रमा करिब ३ सय ५० वटा ट्रक कन्टेनरहरु रोकिएको विराटनगर भन्सार एजेण्ट संघले जनाएको छ । भन्सार जाँचपास नभएपछि विराटनगर भन्सार कार्यालयको भन्सार राजस्व पनि प्रभावित भएको छ ।

दैनिक करिब ११ करोड ३३ लाख रुपैया भन्सार राजस्व संकलन गर्नुपर्ने विराटनगर भन्सार कार्यालयले बैशाख १६ गते ५ करोड १९ लाख, १७ गते बिहिवार ९ करोड ३८ लाख, १८ गते शुक्रवार ६ करोड ४६ लाख रुपैया संकलन गरेको विराटनगर भन्सार कार्यालयका भन्सार अधिकृत विमल साहले जानकारी दिनुभयो । 

उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार वस्तुमा लाग्ने सबै प्रकारका कर समावेश गरी हुन आउने अधिकतम खुद्रा मुल्य अर्थात एमआरपी उल्लेख गर्नैपर्ने कानुनी व्यवस्था छ । आयात कर्ताहरुले भने विदेशबाट आयात हुने वस्तुमा एमआरपी उल्लेख गर्न नसकिने, बरु स्वघोषणा गरी गोदाममा एमआरपी लेखेर बजारमा पठाउन सकिने बताएका छन् ।