इटहरी । मोरङको गोठगाउँ–दुलारी खण्डमा निर्माणाधीन एसियन हाइवे अन्तर्गत सडकको मापदण्ड घटाइएको विषयले स्थानीयमा चिन्ता बढाएको छ ।
तीव्र सहरीकरण भइरहेको क्षेत्रमा ‘ग्रामीण सडक’ मापदण्ड लागू गरिनु उपयुक्त नभएको भन्दै स्थानीयले आपत्ति जनाएका छन् । एसियन हाइवेका अन्य खण्डहरू ५० मिटर चौडाइमा निर्माण भइरहेका अवस्थामा यो खण्डलाई संकुचित बनाइएको प्रति प्रश्न उठाइएको छ । गोठगाउँ–दुलारी खण्ड भने २४ मिटरमै सीमित छ । २४ मिटर सडकमा फुटपाथ, ढल र सर्भिस लेनको पर्याप्त व्यवस्था हुँदैन, जसले भविष्यमा बजार विकासमा असर पार्ने देखिन्छ ।
अहिलेको तीव्र विकासलाई हेर्दा यो खण्डलाई ग्रामीण सडक भन्नु व्यावहारिक नभएको भन्दै यसले भविष्यमा सडक विस्तार गर्दा झन् ठूलो आर्थिक र भौतिक क्षति निम्त्याउने स्थानीय अगुवा देवराज तामाङले बताउनु भयो । बजार क्षेत्रमा यसरी सडक खुम्च्याउँदा सवारी चापले गछियालाई अस्तव्यस्त बनाउने र व्यापारिक गतिविधि नै ठप्प हुने खतरा बढेको गछिया बजार व्यवस्थापन समितिका संयोजक प्रलाद थोप्रा लिम्बुले बताउनु भयो ।
कोभेक सीआरईसीजी टुण्डी जेभीले कुल ४ अर्ब ७ करोड रुपैयाँ लागतमा निर्माण गरिरहेको आयोजना २०८० सालमा सम्झौता भई २०८३ सालसम्म सम्पन्न गर्ने गरि काम भइरहेकोमा हालसम्म करिब २१ प्रतिशत काम सम्पन्न भएको छ । सडक निर्माण कार्य शहरी क्षेत्रमा ५० मिटर, अर्ध–शहरी क्षेत्रमा ३३ मिटर र ग्रामीण क्षेत्रमा २४ मिटर चौडाइ कायम गरी निर्माण कार्य भइरहेको परियोजना प्रबन्धक अनिश रेग्मीले बताउनुभयो ।
यता सरोकारवालाहरूले पनि सडक विस्तारको निर्णयको आधार माथि प्रश्न उठाउँदै सुन्दरहरैचा क्षेत्रमा समान ५० मिटरको सडक बनाउनुपर्नेमा जोड दिएका छन् ।


