इटहरी । इलामको सूर्योदय नगरपालिका –७ कन्याममा निर्माण भएको चिया परीक्षण प्रवर्धन तथा अनुसन्धान केन्द्र सञ्चालनमा आउने भएको छ । 

नेपालमै पहिलो पटक निर्माण भएको चिया परीक्षण, प्रवर्धन तथा अनुसन्धान केन्द्र सञ्चालनका लागि कोशी प्रदेश योजना आयोग, उद्योग, कृषि तथा सहकारी मन्त्रालय कोशी प्रदेश र सूर्योदय नगरपालिकाबिच सहमति भएपछि केन्द्र सञ्चालनमा आउने भएको हो । कोशी प्रदेश सरकारको ७५ प्रतिशत र सूर्योदय नगरपालिकाको २५ प्रतिशत गरी १८ करोड बढी लगानीमा निर्माण भई प्राविधिक जनशक्ति अभावका कारण सञ्चालनमा आउन नसकेको केन्द्रको सञ्चालनका लागि कोशी प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौला, कृषिमन्त्री इस्ताइल मन्सुर सहितको सहभागितामा भएको सहमति भएको छ ।

कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले आवश्यक प्राविधिक जनशक्ति र उपकरण उपलब्ध गराउने भएपछि केन्द्र सञ्चालनमा आउने भएको सूर्योदय नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिज्ञान कोइरालाले जानकारी दिनुभयो । प्रदेश सरकार उद्योग, कृषि तथा सहकारीमन्त्री मन्सुरी, प्रदेश योजना आयोगका उपाध्यक्ष निरौला, प्रदेश सचिव बिष्णुप्रसाद कोइराला, लगानी प्राधिकरण कोशीका प्रमुख कार्यकारी अधिकृत सरोज कोइराला, उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र राउत, सूर्योदय नगरपालिकाका कार्यबाहक नगर प्रमुख दुर्गाकुमार बराल, प्रमुख प्रशासकीय अधिकृत कोइरालासहितको प्रतिनिधि मण्डलबिच प्रदेश योजना आयोगमा छलफल भएको थियो । 

सोपछि २०७६ फाल्गुण ८ गते प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालय र सूर्योदय नगरपालिकाबिच भएको सम्झौताअनुसार उक्त केन्द्रको स्वीकृत विस्तृत परियोजना प्रतिवेदन ९डिपीआर० र चिया परीक्षण, प्रवर्धन तथा अनुसन्धान केन्द्र सञ्चालन कार्यविधि, २०८० ले तोके बमोजिम सञ्चालन हुने नगरका कार्यबहाक नगर प्रमुख बरालले जानकारी दिनुभयो । कार्यबाहक नगर प्रमुख बरालले उक्त सहमतिपछि मन्त्रालयले प्राविधिक जनशक्ति उपलब्ध गराइसक्दा ल्याबसहितको केन्द्र सञ्चालनमा आउने जानकारी दिनुभयो । उक्त सहमतिअनुसार केन्द्रको भवनको भुइतल्लामा रहेको चिया परीक्षण ल्याबबाट प्रवाह हुने सेवालाई परिणाममुखी बनाउन यसअघि सूर्योदय नगरपालिका र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान ९नाष्ट० बिच सम्झौता भएको थियो ।

सोहीअनुसार कोशी प्रदेश सरकार उद्योग, कृषि तथा सहकारी मन्त्रालयले आवश्यक पर्ने दक्ष जनशक्ति र उपकरण उपलब्ध गराउने व्यवस्था मिलाउने साथै उक्त केन्द्रको व्यवस्थित सञ्चालनका लागि अन्य सरकारी तथा गैरसरकारी निकायसँग समन्वय गर्ने सहमति भएको  प्रमुख प्रशासकीय अधिकृत कोइरालाले जानकारी दिनुभयो । प्रदेश योजना आयोगका उपाध्यक्ष निरौलाले योजना आयोग, प्रदेश मन्त्रालय, नगरपालिका र नाष्टबीच भएको सहमति अनुसार केन्द्र संचालनमा आउने जानकारी दिनुभयो । निर्माण सम्पन्न भएर पनि उपकरण र प्राविधिक जनशक्तिको अभावमा केन्द्रमा रहेको चिया परीक्षण ल्याब सञ्चालनमा आउन सकेको थिएन । केन्द्र संचालनमा नआउदा भएका उपकरण समेत जिर्ण बन्ने अवस्थामा आएका थिए । केन्द्र संचालनमा नआउँदा लगानी खेर गएको भन्दै विभिन्न आलोचना समेत हुदै आएपछि नगरपालिकाले २०८३ बैशाख १४ गते प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयलाई पत्र लेख्दै आवश्यक उपकरण र जनशक्ति ब्यवस्थापन गरी केन्द्र संचालनको पहल गर्न माग गरेको थियो । 

नगरपालिकाले स्वीकृत गरेको सूर्योदय नगरपालिकाको चिया परीक्षण, प्रवद्र्धन तथा अनुसन्धान केन्द्र सञ्चालन कार्यविधि, २०८० बमोजिम चिया परीक्षण तथा प्रवद्र्धन केन्द्र सञ्चालन तथा व्यवस्थापन गर्न दोस्रो पटक बोलपत्र आव्हान भई उक्त केन्द्र सोही कार्यविधिक अनुासर सम्बन्धित व्यवसायीसँग २०८२ चैत्र १५ गते ठेक्का समेत सम्झौता भइसकेको छ । कार्यबहाक नगर प्रमुख बरालले विस्तृत परियोजना प्रतिवेदन९डिपीआर० अनुसार संरचना निर्माण भएको र उक्त संरचना अन्तर्गत हाल चिया परीक्षणको कार्य बाहेक क्याफे, सेमिनार हल, अतिथि गृह, प्रशासनिक लगायतका कक्षको एकमुष्ट सञ्चालनका लागि भाडामा लगाइएको जानकारी दिनुभयो । चियाको राजधानी मानिएको सूर्योदय सहित इलाम जिल्ला देशकै सबैभन्दा बढी अर्थोडक्स चिया उत्पादन गर्ने जिल्लामा पर्दछ । तर, नेपालको चियाको ८० प्रतिशत हाराहारी बजार भारत भएका कारण चिया निकासी गर्दा परीक्षणका कारण बर्षेनी चिया उद्योगी र वयवसायीले झन्झट ब्यर्होदै आएको छ । 

नेपालमा वार्षिक रुपमा ७५ लाख किलोग्राम अर्थोडक्स चिया उत्पादन भई स्वदेश तथा विदेशमा गरी वार्षिक १५ अर्ब रुपियाँँ बढीको आर्थिक कारोबार भइरहेको राष्ट्रिय चिया तथा कफी विकास बोर्ड चिया बिस्तार आयोजनाका क्षेत्रीय प्रमुख इन्द्र अधिकारीले जानकारी दिनुभयो ।