इटहरी । विराटनगर भन्सार कार्यालयमा रोकिएका मालवाहक सवारीका मालवस्तुको अधिकतम खुद्रा मूल्य (एमआरपी) व्यवसायीलाई स्वघोषणा गराएर नौ दिनपछि जाँचपास गरिएको छ ।
भन्सार विभागकै निर्देशनबमोजिम एक पटकलाई व्यवसायीले यो सुविधा पाउने भएका हुन् । विराटनगर भन्सार कार्यालयका प्रमुख उमेश श्रेष्ठका अनुसार भन्सारविन्दुमा प्रवेश भएका मालवस्तुको हकमा अब व्यवसायीले मूल्य स्वघोषणा गर्न पाउने छन् । त्यसका आधारमा भन्सारको प्रणालीमा तथ्याङ्क प्रविष्ट हुने छ । त्यसपछि सामान छुट्ने छ । सरकारले एमआरपी घोषणाका लागि पहिले दिएको १५ दिनभित्र यसको व्यवस्थापन गर्न नसक्नेका लागि यो बाटो खुलाइएको भन्सार प्रमुख श्रेष्ठको भनाइ छ ।
त्यसपछि अर्डर भएर आयात हुने मालवस्तुका हकमा भने उत्पादन स्थलमै एमआरपी उल्लेख भएको हुनुपर्ने नियम यथावत् रहेको श्रेष्ठ बताउनुहुन्छ । विराटनगर भन्सार एजेन्ट सङ्घका अध्यक्ष देवकी शर्माले भन्सारले तत्काल मालवस्तु जाँचपास सहजीकरण गर्ने निर्णय गरेपछि व्यवसायीले वस्तुको मूल्य घोषणा गरेका छन् । त्यसका लागि व्यवसायीले आफ्नो फर्मको नाममा लिखित दिनुपर्ने हुन्छ । बजारमा पुगेका ती वस्तु बिक्री गर्दाका बखत भन्सारमा घोषणा भएको मूल्यसँग मेल खाए कि खाएनन् भन्ने कुराको नियमनसमेत हुने छ । अध्यक्ष शर्माले एक पटकलाई मात्रै यो सहजीकरण भएको भन्ने कुरा प्रशासनले जानकारी गराएको हो ।
मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले भन्सार जाँचपास सहजीकरणका लागि एक पटकलाई व्यवसायीले अनुरोध गरेबमोजिम भएको बताउनुभयो । उहाँले व्यवसायीले अर्को पटक यही सुविधा नपाउनेमा ढुक्क हुनुपर्नेमा जोड दिनुभयो । प्रमुख जिल्ला अधिकारी कट्टेलले मूल्य स्वघोषणा गरेर बजारमा आएका वस्तु बिक्री हुँदा घोषणा गरेको मूल्य कायम छ कि छैन भनेर हेर्नकै लागि लिखित कागजात माग गरिएको बताउनुभयो । भन्सारविन्दुमा झन्डै दुई सय मालवाहक सवारी रहेका थिए ।


