सुन्दरहरैचा / उद्योग संगठन मोरङद्वारा आयोजित ‘CIM Nepal HR Summit 2026’ उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीको अध्यक्षता तथा कोशी प्रदेशका सामाजिक विकास मन्त्री रामप्रसाद मेहताको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। विराटचोकस्थित  नेपालीरिका होटलमा आयोजित  सम्मेलनमा उद्योग, शिक्षा, मानव संसाधन तथा नीति निर्माणसँग सम्बन्धित विभिन्न विषयमा छलफल गरिएको थियो।

 कार्यक्रममा बोल्दै प्रमुख अतिथि मन्त्री मेहताले नेपालमा दक्ष जनशक्तिको अभाव अहिलेको प्रमुख चुनौती बनेको बताउनुभयो। उहाँले उद्योग क्षेत्रको आवश्यकता अनुसार सीपयुक्त जनशक्ति उत्पादन गर्न सरकार, निजी क्षेत्र र शैक्षिक संस्थाबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो।

“अबको शिक्षा केवल प्रमाणपत्रमा सीमित हुनुहुँदैन, उत्पादन र रोजगारीसँग प्रत्यक्ष जोडिनुपर्छ,” मन्त्री मेहताले भन्नुभयो, “युवालाई विदेशिनबाट रोक्न देशभित्रै अवसर सिर्जना गर्नुपर्ने आवश्यकता छ।”

उहाँले मानव संसाधन व्यवस्थापनलाई आधुनिक प्रविधिसँग जोड्दै उद्योगमैत्री वातावरण निर्माण गर्न प्रदेश सरकारले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता समेत जनाउनुभयो।

अध्यक्ष नन्दकिशोर राठीले उद्योग क्षेत्रमा दक्ष जनशक्ति अभाव, कर्मचारी टिकाइ राख्ने चुनौती तथा बदलिँदो श्रम बजारका विषयमा सम्मेलन केन्द्रित रहेको जानकारी दिनुभयो। उहाँले सम्मेलनबाट प्राप्त सुझावहरूले नीति निर्माण र उद्योग क्षेत्रलाई दीर्घकालीन रूपमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

सम्मेलनमा पूर्व भाइस चान्सलर डक्टर अच्यूत वाग्ले,ONGC मुम्बई भारतबाट रमानन्द महन्ता साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञ, उद्योगी, मानव संसाधन व्यवस्थापक, प्रशिक्षक, विद्यार्थी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा मानव संसाधन विकास, डिजिटल HR प्रणाली, नेतृत्व विकास, कर्मचारी व्यवस्थापन तथा श्रम बजारका नयाँ चुनौतीबारे विभिन्न कार्यपत्र प्रस्तुत गरिएको आयोजकले जनाएको छ।