इटहरी । कोशी प्रदेशमा वन व्यवस्थापन र काठ उत्पादनबाट यस वर्ष उल्लेख्य आम्दानी भएको छ ।
प्रदेशका विभिन्न वन क्षेत्रबाट संकलित काठ, गैरकाष्ठ वन पैदावार तथा वन क्षेत्रको जग्गा विकास निर्माणका लागि प्रयोग गर्न दिएबापत प्रदेश सरकारले करोडौं रुपैयाँ राजस्व संकलन गरेको हो । प्राप्त तथ्याङ्कअनुसार कोशी प्रदेशमा सरकारी व्यवस्थापनमा रहेका वन, सामुदायिक, कबुलियत, निजी तथा साझेदारी वनमार्फत कुल १ करोड ८३ लाख ९३ हजार ८५६ क्युबिक फिट काठ संकलन तथा व्यवस्थापन गरिएको छ । यसमध्ये सबैभन्दा ठूलो हिस्सा निजी तथा नम्बरी वनको रहेको छ ।
निजी वनबाट मात्रै १ करोड ७७ लाख ८२ हजार क्युबिक फिट काठ तथा २ हजार ५०० चट्टा दाउरा उत्पादन तथा बिक्री वितरण भएको कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयले जनाएको छ । सरकारीस्तरमा व्यवस्थापन गरिएको कानेपोखरी–लेटाङ वन क्षेत्रबाट १ लाख ३५ हजार ६५० क्युबिक फिट काठ लिलाम बिक्री गरिएको छ । त्यस्तै, सामुदायिक, साझेदारी र कबुलियत वनबाट २ लाख ८३ हजार ७५३ क्युबिक फिट काठ उत्पादन गरी आन्तरिक खपत तथा लिलाम बिक्री गरिएको छ । साझेदारी वनअन्तर्गत मोरङ जिल्लाका विभिन्न वनबाट १ लाख ४७ हजार ५४७ क्युबिक फिट काठ र १८१ चट्टा दाउरा संकलन गरिएको मन्त्रालयले जनाएको छ । प्राकृतिक विपद् तथा हावाहुरीका कारण ढलेका रुखबाट समेत ३२ हजार ५४७ क्युबिक फिट काठ र ४९ चट्टा दाउरा संकलन गरिएको छ ।
राजस्व संकलनका हिसाबले पनि यो वर्ष सकारात्मक देखिएको छ । निजी वन पैदावारको बिक्रीबाट मात्रै ६ करोड २ लाख ९२ हजार रुपियाँ राजस्व संकलन भएको छ भने सेवा शुल्कबाट थप ९ करोड ६ लाख रुपियाँ प्राप्त भएको छ । यसैगरी, जलविद्युत् तथा सडक विस्तारजस्ता विकास आयोजनाका लागि वन क्षेत्रको जग्गा प्रयोग गर्न दिएबापत सरकारले ४ करोड ८१ लाख ७६ हजार रुपियाँ राजस्व संकलन गरेको छ । काठबाहेक गैरकाष्ठ वन पैदावारको उत्पादन पनि उल्लेख्य रहेको छ ।
प्रदेशमा कुल ५३ लाख ३९ हजार ७८१ किलोग्राम गैरकाष्ठ वन पैदावार उत्पादन भई ८ लाख ४७ हजार रुपियाँ राजस्व संकलन भएको मन्त्रालयले जनाएको छ । यस्ता पैदावारमा लोक्ता, अर्गेली लगायतका कच्चा पदार्थ समावेश छन् । वन व्यवस्थापनका क्रममा धनकुटा र पाँचथरलगायत जिल्लामा नर्सरी सुधार तथा जडीबुटी खेती विस्तारलाई पनि प्राथमिकता दिइएको छ ।


