इटहरी। मुलुकको सबैभन्दा होचो भू–भागका रूपमा परिचित झापाको कचनकबलका सिमखेतहरूको गरागरामा टिलपिल पानीमाथि यतिबेला चैते धानका बाला होइन, कमल फूलका जस्तै फराकिला र काँडेदार हरिया पातहरू तैरिइरहेका छन् । यो दृश्य हो–कोशी प्रदेशमै पहिलोपटक व्यावसायिक रूपमा सुरु गरिएको ‘मखना’अर्थात् ‘सेतो सुन’ खेतीको ।
कचनकबल गाउँपालिका–४ का ६३ वर्षीय जेलेल मियाको जीवनका धेरै वसन्तहरू यही सिमखेतमा धान रोप्दै र काट्दै बिते । तर, यसपालि उहाँले आफ्नो सात बिघा जग्गामा चैते धानखेती गर्नुभएन । वर्षको प्रतिबिघा ३० मन धान पाउने शर्तमा उहाँले आफ्नो जग्गा भाडामा दिनुभयो । जेलेल मात्र होइन, सोही वडाका बाहिल आलमले पनि आफ्नो १५ कट्ठा जग्गा झापा गाउँपालिका–४ का शाहिल शेखलाई मखनाखेतीका लागि भाडामा दिनुभएको छ । स्थानीय किसानहरूका लागि यो एक प्रकारको प्रयोग हो भने व्यवसायीका लागि ठुलो सम्भावनाको ढोका । मखनाखेती यहाँका बासिन्दाका लागि नौलो भएकाले सबैलाई यसको सम्भावनाबारे कौतुहलता छ । बिर्तामोडका जनक खड्काले त झन आफ्नो २० बिघा जग्गा यही मखनाखेतीका लागि दिनुभएको छ । यसरी धेरै किसानबाट भाडामा लिइएको १०० बिघा जमिनमा अहिले मखनाकोखेती विस्तार भइसकेको छ ।
कचनकबलमा मखनाखेती भित्र्याउने श्रेय शाहिल शेखलाई जान्छ । उहाँले भारतको पूर्णियामा रहेका आफ्ना नातेदारसँग साझेदारी गरेर कचनकबलमा यो नौलो कृषि व्यवसायको थालनी गर्नुभएको हो । नेपालमा मखनाको व्यावसायिक खेतीको इतिहास खासै नभएका बेला शेखले १०० बिघाभन्दा बढी जग्गा भाडामा लिएर ठुलो लगानी गर्नुभएको छ । दुई महिनाअघिदेखि रोप्न सुरु गरिएको मखना अहिले खेतका गराहरूमा कतै वयस्क हुँदैछ भने कतै भर्खर पात पलाउँदैछ । डिप बोरिङ गरेर खेतमा निरन्तर सिँचाइको व्यवस्था गरिएको छ, किनकि मखनालाई गरामा निरन्तर भरिएको पानी चाहिन्छ । शेखका अनुसार भारतमा मखना प्रतिकिलो एक हजारभन्दा बढीमा बिक्री हुन्छ । एक बिघा जमिनमा झण्डै १०० केजी मखना उत्पादन हुने उहाँको अनुमान छ । यदि यो अनुमान सही ठहरियो भने कचनकबलको सिमखेतले धानको तुलनामा कयौँ गुणा बढी आर्थिक लाभ दिने निश्चित छ ।
मखना, जसलाई अङ्ग्रेजीमा ‘फक्स नट’ वा ‘लोटस सिड’ पनि भनिन्छ । यो एक प्रकारको जलीय बिरुवा हो । कमलको फूलजस्तै देखिने यसको बोटमा काँडेदार पातहरू हुन्छन् र यसको दानादार फल पानीमुनि फल्छ । स्वास्थ्यको दृष्टिकोणले मखनालाई ‘सुपरफुड’ मानिन्छ । सेतो दाना हुने र बजार भाउ उच्च भएकाले यसलाई ‘सेतो सुन’ भनिएको हो । धानखेतीमा जस्तै माटो हिल्याएर मखनाको बीउ र बिरुवा रोप्ने कार्य गरिन्छ । पानी सुक्यो भने मखनाको बोट र पातहरूमा असर पर्ने भएकाले खेती गरिएको मिसखेतमा वैकल्पिक सिँचाइको भरपर्दो व्यवस्था मिलाइएको हुन्छ ।यसमा प्रोटिन, फाइबर, पोटासियम र म्याग्नेसियम प्रचुर मात्रामा पाइन्छ । मधुमेह, मुटुसम्बन्धी समस्या भएका र तौल घटाउन चाहनेहरूका लागि यो अमृत समान मानिन्छ । यसमा कोलस्टोरलको मात्रा शून्य हुन्छ । नेपालमा हाल मखना पूर्ण रूपमा भारतबाट आयात हुन्छ । भुटेर बनाइने ‘मखना फूल’ खाजाका रूपमा र पूजाआजामा प्रसादका रूपमा निकै लोकप्रिय छ । मखनाखेतीले जग्गाधनीलाई मात्र होइन, स्थानीय मजदुरहरूलाई पनि नयाँ रोजगारी दिएको छ । काँडेदार पातका बिचबाट पानीमुनि फल्ने दाना टिप्नु, रोप्नु र गोडमेल गर्नु चुनौतीपूर्ण काम हो । यसका लागि भारतबाट दक्ष प्राविधिकहरू ल्याइएका छन् भने उनीहरूलाई सघाउन स्थानीयले पनि काम पाएका छन् । स्थानीय मजदूरले दैनिक ६०० देखि ९०० सम्म पारिश्रमिक पाइरहेका छन्, जसले गाउँको अर्थतन्त्रलाई थप चलायमान बनाएको छ ।
स्थानीय ५९ वर्षीय राहिबुद्दिन मियाँ यस खेतीलाई कौतुहलका साथ नियालिरहेको बताउनुहुन्छ । आगामी दुई महिनापछि मखनाले फल दिन थाल्ने छ । अहिले फूल फुल्ने मौसम हो । यदि यो खेतीको परीक्षण सफल भयो भने कचनकबलको सिमखेतमा मात्र होइन, नेपालका अन्य तराईका जिल्लामा पनि मखनाखेतीको लहर चल्ने छ । बर्खामा जलमग्न भएर खेती कठिनाइ बेहोर्दै आएका कचनकबलका किसानहरू मखनाखेतीप्रति आकिर्षत हुँदैछन् । तराई क्षेत्रका सिमखेत मात्र होइन, सदाबहार पानी रहने प्राकृतिक र कृत्रिम पोखरीहरूमा समेत मखनाखेतीको राम्रो सम्भावना छ । सप्तरी, धनुषा र महोत्तरीलगायतका मधेश प्रदेशका जिल्लामा यसको सानो आकारमा खेती गरिएको पाइएको छ । मखनाखेती गरिएको जग्गामा अटुट रुपमा पानी जम्ने हुनाले माछापालन गरेर दोहोरो लाभ लिन सकिने जानकारहरु बताउँछन् । माछाको मलले मखनालाई उर्बर बनाउने र मखनाको पातले माछालाई सुरक्षा प्रदान गर्ने कचनकबलका मखनाखेती सञ्चालक शाहिल शेख बताउनुहुन्छ । झापा र मोरङसँग सीमा जोडिएको भारतको विहार प्रदेश विश्वकै मखनाखेतीको प्रमुख उत्पादक हो ।
विश्व बजारमा विहारको मखनाले ९० प्रतिशत स्थान ओगटिरहेको जनाइएको छ । विहारको उत्पादन प्रविधि, जनशक्ति र अनुभव नेपालको तराई क्षेत्रका लागि उपयोगी नमूना हुने देखिन्छ । विहारको मधुवनी, दरभंगा, कटिहार, पूर्णिया, सहरसा र सीतामणि मखनाखेतीको पकेट क्षेत्र मानिन्छन् । झापाको कचनकबलमा मखनाखेती गर्न पूर्णियाबाटै लगानी साझेदार आएका हुन् । भारत सरकारले गत वर्ष मखनाखेतीलाई अनुदान दिन र प्रोत्साहित गर्न ‘मखना बोर्ड’ गठन गरेको छ । महँगो मूल्यमा बिक्री हुने र धानको तुलनामा बढी आम्दानी हुने भएकाले निकट भविष्यमा झापाको कचनकबल गाउँपालिका क्षेत्रलाई मखनाखेतीको पकेट क्षेत्र विकास गरेर लैजान सकिने सम्भावना छ । यसका लागि स्थानीय सरकारले पनि सरोकार बढाउनुपर्ने शेख बताउनुहुन्छ ।
कचनकबल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराई यस नवीन कृषि प्रयासलाई सकारात्मक रूपमा लिनुहुन्छ । कचनकबल स्तम्भ रहेको नेपालकै होचो भूभाग अवलोकन गर्न बर्सेनि हजारौँ आन्तरिक तथा बाह्य पर्यटक कचनकबलमा आउने गरेका छन् । कचनकबल स्तम्भ नजिकै रहेको मखनखेतीले समेत पर्यटक आकर्षित गर्ने सम्भावना देखिएको उपाध्यक्ष भट्टराई बताउनुहुन्छ । उहाँले मखनाखेतीमा लागिरहेका व्यवसायीहरुसँग सम्पर्क र संवाद गरेर खेतीको सम्भावनाबारेमा जानकारी लिने कार्य भइरहेको बताउनुभयो ।
नेपालले वार्षिक करोडौँको मखना भारतबाट आयात गर्दै आएको छ । कचनकबलमा सुरु भएको यो जमर्कोले मुलुकलाई मखनामा आत्मनिर्भर बनाउने नयाँ बाटो अवश्य देखाउनेछ । धानको विकल्पमा उच्च मूल्य दिने खेतीका रूपमा मखनाले कचनकबलका किसानको जीवनस्तर उकास्ने अपेक्षा गरिएको छ । सिमखेतको टिलपिल पानीमा तैरिइरहेका ती ठुला हरिया पातहरू एउटा बिरुवा मात्र होइनन्, ती त झापाका किसानका सपना हुन् । जसले भोलिका दिनमा ‘सेतो सुन’ फलाएर गाउँकै अनुहार बदल्ने अठोट बोकेका छन् ।


