इटहरी । ताप्लेजुङमा शनिबार गाईजात्रा पर्व मनाइएको छ । यहाँका नेवार समुदायको आयोजनामा सापारु ९ख्याग० प्रदर्शनसहित गाईजात्रा पर्व मनाइएको हो ।

जिल्लास्थित नेपाल भाषा तथा सांस्कृतिक समाजको आयोजनामा सदरमुकाम फुङ्लिङमा गाईजात्रा पर्व मानइएको हो । पछिल्लो वर्ष निधन भएको आफन्तको सम्झानामा सापारु प्रदर्शन गरी गाईजात्रा पर्व मनाइएको समाजका जिल्ला अध्यक्ष शङ्कर श्रेष्ठले बताउनुभयो ।अध्यक्ष श्रेष्ठका अनुसार यसवर्ष दिवंगत हुनुभएका फुङ्लिङ नगरपालिका–४ का पर्शुराम श्रेष्ठ, वडा ४ कै धीरेन श्रेष्ठ र वडा ५ का किशोर श्रेष्ठको सम्झानामा सापारु निकालिएको हो ।

 दिवंगत भएकाहरूको मृतआत्माको चीरशान्ति तथा सहज बैकुण्ठ बास होस् भन्ने कामनासमेत गरी सापारुसहित गाईजात्रा पर्व मनाइएको उहाँले बताउनुभयो । सापारु प्रदर्शनसहित लाखे नाच र नेवार संस्कृतिमा आधारित नृत्यसमेत प्रदर्शन गरिएको छ । यता लाखे नाच तथा गाईजात्रा पर्व नेवार समुदायको धार्मिक तथा जातीय संस्कृतिमा भए पनि पछिल्लो समय यी पर्वहरू साझा बन्दै गएको नेवार समुदायका अगुवा युवा तथा फुङ्लिङ नगरपालिका ५ का वडाध्यक्ष सोजित श्रेष्ठले बताउनुभयो ।

वडाध्यक्ष श्रेष्ठका अनुसार लाखे नाच्न र नेवार संस्कृतिमा आधारित नृत्य प्रस्तुत गर्न जातीय पहिरन लगाएर अन्य समुदायका नागरिकसमेत सहभागी हुने गरेका छन् । गाईजात्रा पर्वका दिन सापारुसहित लाखेनाच र अन्य सांस्कृतिक नृत्य फुङ्लिङ बजारको सबै क्षेत्रमा प्रदर्शन गरिएको छ । यता हिन्दु धर्मग्रन्थ पद्मपुराणमा उल्लेख भएअनुसार यमलोकको मुख्य ढोका वर्षभरि बन्द रहने र मत्र्यलोक अर्थात् पृथ्वीलोकमा गाईजात्रा निकालिएपछि यमलोकको ढोका खुल्ने र मृतआत्माले यमलोक प्रवेश पाई मुक्ति पाउने उल्लेख गरिएको समाजका अध्यक्ष श्रेष्ठको भनाइ छ । धर्मग्रन्थमा उल्लेख भएको मान्यतासँगै मल्ल कालदेखि गाईजात्रा पर्व मनाउन सुरु गरिएको इतिहास रहेको उहाँले बताउनुभयो ।