इटहरी । भदौरे पूर्णिमा मेला तथा सातौँ छथर गाउँपालिका अध्यक्ष कप सांस्कृतिक तथा सांगीतिक कार्यक्रम–२०८३ भव्य रूपमा सञ्चालन भइरहेको छ । छथर गाउँपालिकाको आयोजनामा भदौ १ गतेदेखि सुरु भएको मेला भदौ १६ गतेसम्म सञ्चालन हुनेछ ।
मेलाका अवसरमा आयोजित कार्यक्रममा छथर गाउँपालिका अध्यक्ष सन्तोष तिगेला लिम्बुले आफ्नो एक महिनाको सेवा–सुविधा बापत प्राप्त हुने रकम भोटेकोसीमा आएको भीषण बाढीका कारण विपद्मा परेका नागरिकको सहयोगका लागि जम्मा गर्ने घोषणा गर्नुभएको छ । भोटेकोसी क्षेत्रमा आएको भीषण बाढीका कारण ठूलो जनधनको क्षति हुनुका साथै नागरिकहरू प्रभावित भइरहेका बेला अध्यक्ष तिगेलाले आफ्नो सेवा–सुविधाको रकम विपद् प्रभावित नागरिकका लागि सहयोग गर्ने घोषणा गर्नुभएको हो ।
अध्यक्ष तिगेलाको घोषणाले विपद्को समयमा जनप्रतिनिधिले आफ्नो व्यक्तिगत सेवा सुविधा बाट समेत पीडित नागरिकलाई सहयोग गर्न सक्ने सकारात्मक सन्देश दिएको छ । उहाँले विपद्मा परेका नागरिकको उद्धार, राहत तथा सहयोगका लागि सबै पक्षलाई आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह समेत गर्नुभएको छ । यसैबीच, भदौरे पूर्णिमा मेलाअन्तर्गत विभिन्न खेलकुद, सांस्कृतिक तथा सांगीतिक कार्यक्रमहरू आयोजना भइरहेका छन्।
सातौँ छथर गाउँपालिका अध्यक्ष कप अन्तर्गत विभिन्न खेलकुद प्रतियोगिता सँगै स्थानीय कला, संस्कृति र प्रतिभाको प्रदर्शनसमेत भइरहेको छ । भदौ १ गतेदेखि सुरु भएको मेलामा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको सांगीतिक प्रस्तुति, सांस्कृतिक कार्यक्रम तथा विभिन्न मनोरञ्जनात्मक गतिविधि सञ्चालन भइरहेका छन् । मेलाले छथर क्षेत्रको मौलिक कला, संस्कृति तथा पर्यटन प्रवद्र्धनमा समेत योगदान पुग्ने आयोजकले जनाएको छ । भदौ १६ गतेसम्म सञ्चालन हुने मेलामा छथर गाउँपालिका सहित आसपासका विभिन्न क्षेत्रबाट सर्वसाधारणको सहभागिता भइरहेको छ । धार्मिक, सांस्कृतिक, खेलकुद तथा मनोरञ्जनलाई एकैसाथ जोडिएको भदौरे पूर्णिमा मेला स्थानीयस्तरमा विशेष आकर्षणको केन्द्र बनेको छ ।

