इटहरी । इटहरी उपमहानगरपालिका–१ स्थित राष्ट्रिय माध्यमिक विद्यालय इटहरी मा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कोबिद जंग कार्कीको कार्यकालमा शैक्षिक, प्रशासनिक तथा भौतिक पूर्वाधार सुधारका विभिन्न कार्यक्रमहरू सञ्चालन गरिएका छन्।
कार्कीको नेतृत्वमा विद्यालयमा आर्थिक पारदर्शिता कायम गर्न School Accounting System (SAS) लागू गरिएको छ भने वार्षिक नीति, कार्यक्रम तथा बजेट निर्माण गरी व्यवस्थित ढंगले सञ्चालन गरिएको विद्यालयले जनाएको छ। पुराना डेस्क–बेन्च विस्थापित गरी नयाँ डेस्क–बेन्चको व्यवस्थापन गरिएको छ भने स्मार्ट विद्यालयको अवधारणाअनुसार कक्षा कोठामा स्मार्ट बोर्ड जडान गरिएको छ। विद्यालय परिसरको सुरक्षाका लागि सिसिटिभी क्यामेरा जडान गरिएको छ र खेल मैदानको व्यवस्थापन समेत गरिएको छ।
शैक्षिक कार्यक्रमअन्तर्गत कक्षा ११–१२ मा होटल मेनेजमेन्ट विषयको पढाइ सुरु गरिएको छ भने विद्यार्थी प्रतिभा पहिचानका कार्यक्रम, करियर ल्याब निर्माण, विषयगत परियोजना कार्य तथा सिकाइ क्षमता अभिवृद्धि गर्न अभिभावकसँग कक्षागत अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको छ। कमजोर सिकाइ भएका विद्यार्थीका लागि कोचिङ कक्षा सञ्चालन गरिएको विद्यालयले जनाएको छ।
विद्यालयमा पठन संस्कृतिको विकास गर्न शिक्षकहरूको विभिन्न उपसमिति गठन गरिएको छ भने विद्यार्थीहरूलाई सक्रिय बनाउने उद्देश्यले विभिन्न क्लब र समिति गठन गरिएको छ। प्रत्येक शुक्रबार अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने व्यवस्था गरिएको छ। घरमै अध्ययन गर्ने तालिका लागू गरी अभिभावकसँग नियमित अन्तरक्रिया तथा पृष्ठपोषण कार्यक्रम पनि सञ्चालन गरिएको छ।
विद्यालयमा सबै विद्यार्थीका लागि गृहकार्य पुस्तिका उपलब्ध गराइएको छ भने परीक्षाको नतिजा अभिभावकको उपस्थितिमा वितरण गर्ने परिपाटी बसालिएको छ। शिक्षक लगबुक लागू गरिएको छ र शिक्षक–कर्मचारीको बिदा व्यवस्थापनमा सुधार गर्दै बिदा बचत गरेबापत प्रतिदिन ३०० रुपैयाँ प्रोत्साहन दिने व्यवस्था गरिएको छ।
विद्यालय व्यवस्थापन सुधारका क्रममा प्रयोगशाला तथा पुस्तकालयलाई स्तरोन्नति गरिएको छ भने English Medium, Nepali Medium र Science Block लाई छुट्टाछुट्टै व्यवस्थापन गरिएको छ। विद्यार्थी उपस्थितिको जानकारी अभिभावकसम्म पुर्याउने प्रणाली विकास गरिएको छ। विद्यालयका गतिविधि सार्वजनिक गर्न विद्यालयको फेसबुक पेज सञ्चालन गरिएको छ।
विद्यालयमा दैनिक प्रार्थना सभामा विद्यार्थीहरूलाई पालैपालो भाषण, हाजिरीजवाफ जस्ता कार्यक्रम सञ्चालन गरिन्छ। प्रत्येक त्रैमासिक परीक्षापछि शिक्षक–विद्यार्थी सहभागी भएर नतिजा विश्लेषण गर्ने परम्परा सुरु गरिएको छ। अभिभावक, शिक्षक र विद्यार्थी आचारसंहिता प्रभावकारी रूपमा लागू गरिएको छ भने विद्यार्थीहरूको गुनासो तथा सुझाव सुन्न “विद्यार्थीसँग विचार विमर्श” कार्यक्रम पनि सञ्चालन गरिएको छ।
खेलकुदतर्फ अन्तर्राष्ट्रिय सहकार्यमा FIFA Football for School कार्यक्रम सञ्चालन गरिएको छ। व्यवहारिक शिक्षालाई जोड दिँदै विद्यार्थीलाई सीप र कामको संसारसँग परिचित गराउने कार्यक्रमहरू सञ्चालन गरिएका छन्। अक्षयकोष स्थापना गरी शिक्षक, कर्मचारी र विद्यार्थीलाई विभिन्न विधामा प्रोत्साहन कार्यक्रम सञ्चालन गरिएको छ। साथै हरेक वर्ष Teacher of the Year र Student of the Yearघोषणा गरी सम्मान गर्ने परम्परा बसालिएको छ।
भौतिक पूर्वाधारतर्फ लायन्स क्लब अफ न्यू भिजन र लायन्स क्लब अफ मनकामनाको सहकार्यमा बाल उद्यान निर्माण गरिएको छ। राष्ट्रिय शैक्षिक सुधार कार्यक्रम अन्तर्गत चार कोठे भवन निर्माण गरिएको छ भने विद्यालयमा थप शौचालय निर्माण तथा छात्रा शौचालयमा वाटर ट्याप जडान गरिएको छ।
त्यसैगरी होटल मेनेजमेन्ट ल्याब निर्माणको प्रक्रिया अगाडि बढाइएको छ। विद्यालयको आईसीटी क्षेत्रलाई सुदृढ गर्दै कक्षा कोठामा स्मार्ट बोर्ड, सिसिटिभी जडान, विज्ञान प्रयोगशाला र पुस्तकालय व्यवस्थापन गरिएको छ।
बालमैत्री शिक्षालाई प्राथमिकता दिँदै कोशी प्रदेश सरकार र पालिकाको सहकार्यमा २४ महिनाको Early Child Development (ECD)फेसिलेसन तालिम सञ्चालन गरी दक्ष जनशक्ति उत्पादनमा समेत जोड दिइएको छ।
विद्यालयले गरेको कार्यसम्पादनका आधारमा पालिकाबाट समेत पुरस्कृत भएको जनाइएको छ। साथै विभिन्न संघ–संस्थाले आयोजना गर्ने कार्यक्रमहरूमा विद्यार्थीहरूलाई सहभागी गराई पुरस्कार प्राप्त गर्ने वातावरण सिर्जना गरिएको विद्यालय प्रशासनले जनाएको छ।


