इटहरी । नेपाल रेडक्रस सोसाइटी उदयपुरले जिल्लाका दुईवटा नगरपालिकाका बासिन्दालाई निःशुल्क रगत उपलब्ध गराउने भएको छ ।
रेडक्रस सोसाइटी उदयपुरका अध्यक्ष मदनराज कटुवालका अनुसार त्रियुगा नगरपालिका गाईघाट र चौदण्डीगढी नगरपालिका बेल्टारका स्थानीय बासिन्दाहरूलाई रेडक्रस उदयपुरले निःशुल्क रूपमा रगत उपलब्ध गराउने भएको हो । प्रति युनिट एक हजार पाँच सय रुपियाँ मूल्य पर्ने रगत रेडक्रसमार्फत निःशुल्क उपलब्ध गराइदैँ आएको थियो । यसबारे रेडक्रस उदयपुरका अध्यक्ष मदनरान कटुवालले चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामा र त्रियुगा नगरपालिकाका नगर प्रमुख वसन्तकुमार बस्नेतसँग सहमति पत्रमा हस्ताक्षर गरी निःशुल्क रगत वितरण गरिने भएको हो ।
त्रियुगा नगरपालिकाका नगरप्रमुख बस्नेतकाअनुसार प्रतिवर्ष न्यूनतम तीन सय युनिट रगत बिरामीहरूलाई निःशुल्क उपलब्ध गराउनेगरी नगरपालिकाले रेडक्रसलाई चार लाख ५० हजार रुपियाँ उपलब्ध गराउने निर्णय गरिएको छ । यसैगरी चौदण्डीगढी नगरपालिकाले भने दुई सय युनिटका लागि तीन लाख रुपियाँ रेडक्रसलाई उपलब्ध गराउने निर्णय भएको नगर प्रमुख लामाले बताउनुभयो । दुवै नगरपालिकाले दुई किस्तामा रकम उपलब्ध गराउने जनाइएको छ ।
सम्झौताअनुसार नगरपालिकाबाट सिफरिस लिएर आएका बिरामीहरूलाई निःशुल्क रगत उपलब्ध गराइनेछ । रेडक्रसका अध्यक्ष कटुवालका अनुसार उदयपुरको एकमात्र रक्त सञ्चार केन्द्रमा आइतबार ए पोजेटिभ ५८ युनिट, बी पोजेटिभ ४२ युनिट, ओ पोजेटिभ ३५ युनिट, एबि पोजेटिभ २३ युनिट, बी नेगेटिभ एक युनिट र ओ नेगेटिभ एक युनिट गरी कूल १६० युनिट रगत सञ्चित रहेको छ ।


