इटहरी । ताप्लेजुङको दुर्गम हिमाली गाउँ लेलेपको ग्याब्लामा नागपोखरी लघु जलविद्युत् आयोजनाको निर्माण कार्य हाल तीव्र रूपमा भइरहेको छ ।
कञ्चनजङ्घा पदमार्गअन्तर्गत पर्ने फक्ताङ्लुङ गाउँपालिका–६ स्थित ग्याब्ला गाउँमा विद्युत् सुविधा पुर्याउन यो आयोजना सुरु गरिएको हो । बाह्य तथा आन्तरिक पर्यटकको मुख्य बासस्थानका रूपमा रहेको ग्याब्लामा विद्युत्को पहुँच पुर्याउन पालिकाको लागत साझेदारीमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले आयोजना निर्माण गरिरहेको फक्ताङ्लुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बू ९मुक्ति० ले बताउनुभयो । आउँदो असार मसान्तभित्र निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको उहाँले जानकारी दिनुभयो ।
कुल १५ किलोवाट क्षमताको यस आयोजनाको कुल लागत एक करोड ७२ लाख ८८ हजार १८१ रुपियाँ रहेको छ । उक्त रकममध्ये वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको ९० प्रतिशत र फक्ताङ्लुङ गाउँपालिकाको १० प्रतिशत लगानी रहेको छ । हाल ताप्लेजुङ जिल्लाका अधिकांश क्षेत्रमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तार भइसके पनि भौगोलिक विकटताका कारण ग्याब्लामा तत्काल राष्ट्रिय लाइन पुग्ने अवस्था नभएकाले लघु जलविद्युत् योजना अघि बढाइएको गाउँपालिकाले जनाएको छ ।
विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घाको भ्रमणमा आउने पर्यटकका कारण पर्यटकीय मौसममा ग्याब्ला गाउँ खचाखच हुने पर्यटन व्यवसायी एवम् फक्ताङ्लुङ गाउँ कार्यपालिका सदस्य तेन्जिङ सेराप शेर्पाले बताउनुभयो । विद्युत् आयोजना सम्पन्न भएपछि यहाँका स्थानीय बासिन्दाका साथै पर्यटकहरूलाई समेत ठुलो राहत पुग्ने विश्वास लिइएको छ ।


