विराटनगर । बजारमा पेट्रोलियम पदार्थको अभाव भई सर्वसाधारणको दैनिक जनजीवन प्रभावित भएको गुनासो आएपछि कोशी प्रदेश सरकारले इन्धन आपूर्तिलाई सहज बनाउन पहल थालेको छ।

कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरूलाई पत्राचार गर्दै बजार अनुगमन र आवश्यक सहजीकरण गर्न निर्देशन दिएको हो। मन्त्रालयले जारी गरेको पत्रमा बजारमा पेट्रोलियम पदार्थको अभावका कारण नागरिकस्तरबाट व्यापक गुनासो आएको उल्लेख गरिएको छ।

Screenshot_2026-05-18-19-06-52-45_439a3fec0400f8974d35eed09a31f914

मन्त्रालयका अनुसार कृत्रिम अभाव, कालोबजारी तथा अव्यवस्थित वितरण नियन्त्रण गर्न स्थानीय प्रशासनलाई सक्रिय रूपमा परिचालन गरिनेछ। इन्धन आपूर्तिलाई सहज र व्यवस्थित बनाउन सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक सहजीकरण गर्न भनिएको छ।

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुली ले नागरिकले सहज रूपमा पेट्रोलियम पदार्थ पाउनुपर्ने भएकाले सरकारले चासोका साथ अनुगमन अघि बढाएको बताउनुभयो।

उहाँले भन्नुभयो, “बजारमा कृत्रिम अभाव सिर्जना गरेर नागरिकलाई दुःख दिने काम कसैले गर्न पाउँदैन। पेट्रोलियम पदार्थको सहज आपूर्ति सुनिश्चित गर्न प्रशासन, सम्बन्धित निकाय र व्यवसायीसँग समन्वय गरेर अनुगमनलाई प्रभावकारी बनाइन्छ।”

मन्त्री पराजुलीले अत्यावश्यक वस्तुको आपूर्तिमा समस्या हुन नदिन प्रदेश सरकारले निरन्तर निगरानी गरिरहेको समेत बताउनुभयो। उहाँका अनुसार नागरिकको दैनिक जीवन सहज बनाउन आवश्यक परे थप कदमसमेत चालिनेछ।