इटहरी। खुम्बु पासाङल्हामु गाउँपालिकाले हालसम्म सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय राजश्व बापत कुल ५९ करोड ७८ लाख ३७ हजार तीन सय दुई रुपियाँ ७८ पैसा राजश्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०८२–८३ साउनदेखि वैशाख मसान्तसम्म १० महिनाको अवधिमा उक्त राजश्व सङ्कलन गरेको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले आर्थिक वर्ष २०८२–८३ मा बाँडफाँट भई प्राप्त हुने पर्वतारोहण बापतको रोयल्टी शीर्षकमा सबैभन्दा बढी राजश्व सङ्कलन गरेको हो ।

जसमा १४ करोड ६४ लाख ४७ हजार ६ सय २५ रुपियाँ नौ पैसा सङ्कलन गरेको खुम्बु पासाङल्हामु गाउँपालिका लेखा अधिकृत चेतनाथ कटेलले जानकारी दिनुभयो। उहाँका अनुसार दोस्रोमा पर्यटन शुल्क बापत १३ करोड ४८ लाख २६ हजार रुपियाँ राजश्व सङ्कलन भएको छ। गत आर्थिक वर्ष २०८१–८२ मा यही अवधिमा गाउँपालिकाको आन्तरिक राजश्व बापत १५ करोड ८० लाख २१ हजार दुई सय ४० रुपियाँ ६३ पैसा सङ्कलन भएकोमा चालु आर्थिक वर्ष २०८२–८३ को सोही अवधिमा १४ करोड ७६ लाख ५५ हजार एक सय १२ रुपियाँ २५ पैसा राजश्व सङ्कलन भएको गाउँपालिकाले जनाएको छ ।खुम्बु पासाङल्हामु गाउँपालिकाको आन्तरिक राजश्वमध्ये वडा(१ खरी खोलाबाट पाँच लाख ५१ हजार नौ सय ११ रुपियाँ १२ पैसा राजश्व सङ्कलन भएको छ ।

यस्तै वडा नम्बर २ लुक्लाबाट १० लाख ९० हजार नौ सय आठ रुपियाँ २९ पैसा, वडा नम्बर ३ नाचिपाङबाट १६ लाख चार हजार नौसय चार रुपियाँ ४७ पैसा राजश्व सङ्कलन भएको लेखा अधिकृत कटेलले बताउनुभयो । यसैगरी वडा नम्बर ४ खुम्जुङबाट १७ लाख ५९ हजार सात सय ३३ रुपियाँ ७८ पैसा र वडा नम्बर ५ नाम्चेबाट १५ लाख ६० हजार आठ सय ४१ रुपियाँ ९४ पैसा राजश्व रकम सङ्कलन भएको छ। लेखा अधिकृत चेतनाथ कटेलका अनुसार खुम्बु पासाङल्हामु गाउँपालिकाको ५ वडामध्ये वडा नम्बर ४ बाट सबैभन्दा बढी १७ लाख ५९ हजार सात सय ३३ रुपियाँ ७८ पैसा राजश्व सङ्कलन भएको छ।गाउँपालिकाले आर्थिक वर्ष २०८२–८३ मा ९४ करोड १० लाख १६ हजार सङ्कलन गर्ने लक्ष्य लिएको छ। खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष मिङमा छिरी शेर्पाका अनुसार सङ्कलित राजश्व रकम गाउँपालिकाको भौतिक पूर्वाधार विकास, पर्यटन पदमार्ग निर्माण, विद्युत् व्यवस्थापन, ढल व्यवस्थापन, पुल पुलेसा निर्माण लगायतको कार्यमा खर्च गरिँदै आएको छ।