इटहरी । पाँचथरका आठ स्थानीय तहमा सात करोड ४२ लाख ६२ हजार रुपियाँ बेरुजु देखिएको छ । महालेखा परीक्षकको वार्षिक प्रतिवेदन २०८३ ले जिल्लाका आठवटै पालिकामा खर्च तथा लेखा व्यवस्थापनमा कमजोरी औँल्याएको हो । आर्थिक वर्ष २०८१ र ८२को प्रतिवेदन अनुसार याङवरक गाउँपालिकामा प्रतिशतका आधारमा सबैभन्दा बढी बेरुजु देखिएको छ । गाउँपालिकाको ८६ करोड ५० लाख ९० हजार रुपियाँ को लेखा परीक्षण गर्दा १ करोड ७४ लाख ५१ हजार रुपियाँ बेरुजु फेला परेको छ । यो कुल परीक्षण रकमको २।०२ प्रतिशत हो । रकमका हिसाबले भने फिदिम नगरपालिकामा सबैभन्दा धेरै बेरुजु देखिएको छ । नगरपालिकाको एक अर्ब ९५ करोड ६० लाख ४२ हजार रुैियाँको लेखा परीक्षणमा दुई करोड १६ लाख ८२ हजार रुपियाँ बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ । फालेलुङ गाउँपालिकामा एक करोड १८ लाख ९१ हजार रुपियाँ बेरुजु देखिएको छ । त्यस्तै मिक्लाजुङ गाउँपालिकामा १ करोड ८ लाख ८१ हजार रुपियाँ, तुम्बेवा गाउँपालिकामा ८१ लाख नौ हजार रुपियाँ तथा हिलिहाङ गाउँपालिकामा ७३ लाख ८५ हजार रुपियाँ बेरुजु फेला परेको छ । कुम्मायक गाउँपालिकामा ५८ लाख ८१ हजार रुपियाँ बेरुजु देखिएको छ भने सबैभन्दा कम बेरुजु फाल्गुनन्द गाउँपालिकामा रहेको छ । फाल्गुनन्दमा एक अर्ब २९ करोड ४२ लाख ३० हजार रुपियाँको लेखा परीक्षण गर्दा ५३ लाख ७२ हजार रुपियाँ मात्र बेरुजु देखिएको प्रतिवेदनमा जनाइएको छ । महालेखा परीक्षकको प्रतिवेदनले स्थानीय तहमा सार्वजनिक खर्चको पारदर्शिता, लेखा व्यवस्थापन र आर्थिक उत्तरदायित्वलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याएको छ ।