इटहरी। ताप्लेजुङका स्थानीय तहको आर्थिक वर्ष २०८१ र ८२ को बेरुजु रकम करिव स्रोह करोड रुपियाँ रहेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६३ औं वार्षिक प्रतिवेदनअनुसार यहाँका स्थानीय तहको उक्त रकम बराबर बेरुजु रहेको पाइएको हो ।
एक नगरपालिका र आठ वटा गाउँपालिकासमेत जिल्लाका नौ स्थानीय तहको कुल बेरुजु १५ करोड ९९ लाख ५६ हजार रुपियाँ रहेको छ । महालेखा परीक्षकको प्रतिवेदनअनुसार सबैभन्दा बढी मैवाखोला गाउँपालिकाको ५.२५ प्रतिशत अर्थात चार करोड ३६ लाख ६३ हजार रुपियाँ बेरुजु देखिएको छ । त्यस्तै सबैभन्दा न्युन फक्ताङ्लुङ गाउँपालिकाको बेरुजु ०.९ प्रतिशत अर्थात ८४ लाख ४१ हजार रुपियाँ रहेको पाइएको छ । मैवाखोला गाउँपालिकाको लेखा परीक्षण रकम कुल ८३ करोड १६ लाख ३६ हजार रुपियाँ रहेकोमा उक्त रकम बेरुजु देखिएको हो ।
फक्ताङ्लुङको ९४ करोड १४ लाख ६० हजार रुपियाँको लेखापरीक्षण गर्दा उक्त रकम बेरुजु रहेको पाइएको हो । यस्तै मैवाखोलापछि मिक्वाखोला गाउँपालिकाको बेरुजु दुई करोड ४७ लाख रुपियाँ रहेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ । कुल ७५ करोड ८८ लाख चार हजार रुपियाँको लेखापरीक्षण गर्दा उक्त रकम अर्थात ३.२६ प्रतिशत बेरुजु देखिएको हो । जिल्लाको एकमात्र फुङ्लिङ नगरपालिकाको बेरुजु १.१४ प्रतिशत अर्थात एक करोड ६५ लाख २४ हजार रुपियाँ रहेको छ । फुङ्लिङको कुल एक अर्ब ४५ करोड आठ लाख ४२ हजार रुपियाँ रकमको लेखा परीक्षण गरिएको थियो । पाथीभरा याङ्वरक गाउँपालिकाको लेखा परीक्षण रकम ९३ करोड ९६ लाख ६० हजार रहेकोमा एक करोड ५५ लाख ६७ हजार (१.६६ प्रतिशत) रुपियाँ देखिएको छ ।
त्यस्तै आठराई त्रिबेणी गाउँपालिकाको ९५ करोड ४७ लाखा ६४ हजार रुपियाँको लेखा परीक्षण गर्दा एक करोड ८६ लाख ९० हजार रुपियाँ (१.९६ प्रतिशत) देखिएको छ । सिरिजङ्घा गाउँपालिकाको पनि एक करोड ४१ लाख ६३ हजार रुपियाँ (१.२३ प्रतिशत) बेरुजु रहेको पाइएको छ । सिरिजङ्घाको एक अर्ब १५ करोड दुई लाख १७ हजार रुपियाँ रकमको लेखा परीक्षण गरिएको थियो । यसैगरी मेरिङ्देन गाउँपालिकाको बेरुजु ०.९२ प्रतिशत अर्थात ८२ लाख २५ हजार रुपियाँ रहेको देखिएको छ । मेरिङ्देनको कुल ८९ करोड ३७ लाख ३७ रुपियाँ रकमको लेखा परीक्षण गर्दा उक्त रकम बेरुजु देखिएको हो । सिदिङ्वा गाउँपालिकाको ८८ करोड ३७ लाख २४ हजार रुपियाँको लेखा परीक्षण हुँदा ९९ लाख ८३ हजार रुपियाँ(१.१३ प्रतिशत) रकम बेरुजु देखिएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ ।


