इटहरी। मोरङको उर्लाबारी–४ का २९ वर्षीय रमेश भण्डारी नौ वर्षदेखि सर्प उद्धारमा तल्लीन हुनुहुन्छ । भण्डारीको २० वर्षको उमेरमा छिमेकी प्रेम विष्टसँग सङ्गत भयो । विष्ट वन कार्यालयको सुरक्षाकर्मी हुनुहुन्थ्यो । सर्प उद्धारमा सिपालु विष्टको सङ्गत गर्दागर्दै रमेशमा पनि सर्प उद्धारको भोग जाग्यो । प्रेम विष्टसँग ठुला र विषालु सर्प कुनै पनि उपकरणबिना च्याप्प समात्ने कला थियो । विष्टसँग सर्प उद्धार गर्न सिक्दासिक्दै रमेशले पनि पहिला विष नभएका सर्प समात्न थाल्नुभयो । पहिलो वर्ष विष नभएका सर्प समात्दा थुप्रै पटक सर्पले डस्यो । विष नभएका सर्प समात्न वा उद्धार गर्न त्यति जोखिम भएन । डसिहाल्यो भने पनि मरिन्न भन्ने आत्मविश्वास हुँदो रहेछ । रमेशको सर्प उद्धार गर्ने अभियान यत्तिकैमा रोकिएन । प्रेम विष्टसँग हिँड्दाहिँड्दै उहाँले विषालु सर्पको उद्धार गर्ने विधि, प्रक्रिया र सर्पको परिस्थितिजन्य स्वभाव अध्ययन गर्ने मौका पाउनुभयो । नौ वर्षको अवधिमा रमेशले एक हजार तीन सयभन्दा बढी सर्प उद्धार गरिसक्नुभएको छ । कहिले खेत खलियानबाट त कहिले भान्साघरबाट । ओछ्यानबाट समेत विषालु करेत सर्प उद्धार गरिसक्नुभएका भण्डारी विषालु सर्प देख्नेबित्तिकै जोखिम र सतर्कता अपनाउनुपर्ने बताउनुहुन्छ ।यही भय हटाउन रमेश भण्डारी अचेल विभिन्न विद्यालय, किसान समूह तथा स्थानीय संस्थामा सर्पसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै हिँड्नुहुन्छ । रमेशलाई सुरुका दिनमा घरपरिवारका सदस्यले यस्तो जोखिमयुक्त काम नगर्न सुझाव दिनुभयो तर रमेशले कसैका कुरा नसुनी सर्प उद्धारलाई निरन्तरता दिइरहनुभएको छ । अचेल बर्र्खायाममा सर्प उद्धारमा उहाँको दिन बित्छ । सर्प उद्धार स्वयंसेवी काम हो । पैसा कमाइ नभए पनि रमेश दिनरात नभनी सूचना आउनासाथ घरबाट निस्किनुहुन्छ ।


