इटहरी  । जिल्ला सदरमुकाम धनकुटास्थित सल्लेरीमा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा शिरोधारा उपचार पद्धति प्रभावकारी बन्दै गएको छ । पछिल्लो समय केन्द्रले नयाँ उपचार विधि अपनाउँदै सेवा विस्तार गरेसँगै शिरोधारा आकर्षण बढ्न थालेसँगै शिरोधारा उपचार पद्धति प्रभावकारी बन्दै गएको हो । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले सेवा विस्तार गरेसँगै सेवाग्राहीको समेत सङ्ख्या उल्लेखनीय रूपमा बढेकोे पाइएको छ ।

आयुर्वेदिक पञ्चकर्म विज्ञान अन्तर्गत पर्ने शिरोधारा लोकप्रिय सुख चिकित्सात्मक उपचार पद्धति हो । शिरोधारा निधार वा शिरमा निरन्तर स्नेहन द्रव्य धारा दिएर उपचार गर्ने गरिन्छ । बिरामीको प्रकृति हेरेर तेल, घिउ, दुध, मोही वा सादा पानी जस्ता पदार्थलाई सिधै अथवा आयुर्वेदिक औषधी मिलाएर शिरोधारा दिइने केन्द्रका प्रमुख डाक्टर विद्या श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार स्वस्थ व्यक्तिका लागि भने औषधीय द्रव्य नराखीकन सादा तेल ९तिल, लेभेन्डर, बदाम० को धारा दिइने गरेको बताउनुभयो । पछिल्लो समय धनकुटालगायत छिमेकी जिल्लाबाट समेत बिरामी आउने गरेको पाइएको छ । शिरोधारा गर्नाले मानसिक तनावसमेत कम हुने चिकित्सकको भनाइ छ ।

नसामा रहेका, बाथ व्याधिले ग्रस्त, ढाड तथा घाटीका समस्याले ग्रस्त, निधारका घाउ खटिरा र स्नेहन द्रव्य एलर्जी भएकाले भने गर्न नहुने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले जनाएको छ । तेल तताएर करिब ४५ मिनेटदेखि एक घण्टासम्म तामाको भाँडोबाट बिस्तारै निधारमा झार्ने शिरोधारा गरिन्छ । यो उपचार विधिले आँखाको समस्या, पिनास, माइग्रेन, एलर्जी, राइनाइटिस, कपाल फुल्ने, निद्रा नलाग्ने, तनाव, चिन्ता, भय, उदासीनता, स्मृतिनाश, कान बज्ने, रिँगटा लाग्ने, कान कम सुन्ने जस्ता रोगको उपचार हुने गर्दछ । उच्च रक्तचाप, मधुमेह, प्रमेह, स्वरियसिस, दम जस्ता रोगका लागि विशेष फाइदा हुने केन्द्रकी प्रमुख श्रेष्ठले बताउनुभयो । आयुर्वेद स्वास्थ्य केन्द्रको तथ्याङ्क अनुसार शिरोधारा उपचार पद्धतिसहित गत आर्थिक वर्ष सात हजार ७३० जनाले सेवा लिएका थिए ।

चालु आवमा भने अझै सेवाग्राहीको सङ्ख्या बढ्ने अनुमान गरिएको बताइएको छ । आयुर्वेद उपचार पद्धति आधुनिक प्रविधिको प्रभावले ओझेलमा पर्दै गएको अवस्थामा धनकुटामा भने यसको लोकप्रियता पुनः बढ्न थालेको छ । केन्द्रले नयाँ उपचार विधि अपनाउँदै सेवा विस्तार गरेपछि आयुर्वेदतर्फ आकर्षण बढ्न थालेको पाइएको हो । आयुर्वेद उपचार सस्तो र राम्रो साथै जतिबेला आए पनि सहज ढङ्गबाट सेवा पाइने गरेको सेवाग्रही प्रतिमा जोशीले बताउनुभयो । जिल्ला आयुर्वेद सेवा केन्द्र धनकुटामा ओपिडी, प्रयोगशाला, निःशुल्क औषधी वितरण, योग, पूर्वकर्म तथा पञ्चकर्म सेवासमेत सञ्चालनमा रहेका छन् ।

केन्द्रमा धनकुटासहित तेह्रथुम, भोजपुर र सुनसरीबाट सेवाग्राही आउने गर्छन् । अन्य उपचारबाट निको नभएपछि आयुर्वेद उपचार लिन आएको सेवाग्राही फडिन्द्र तिम्सिनाले बताउनुुभयो । केन्द्रमा पेटसम्बन्धी रोग, हाडजोर्नी तथा नसा रोग, मानसिक समस्या, छाला रोग, जन्डिस, मधुमेह, उच्च रक्तचाप, मोटोपना र पत्थरी जस्ता रोगको उपचार हुँदै आएको छ । केन्द्रले २३ प्रकारका आयुर्वेद औषधी निःशुल्क वितरण गर्दै आएको छ । केन्द्रले सहिदभूमि गाउँपालिकामा छिन्ताङ आयुर्वेद औषधालय, पाख्रीबास नगरपालिकामा नागरिक आरोग्य सेवा केन्द्र, महालक्ष्मी नगरपालिका र चौबिसे गाउँपालिकामा आरोग्य सेवा केन्द्रमार्फत पनि सेवा दिइरहेको जनाएको छ ।