इटहरी ।  उदयपुर सिमेन्ट उद्योगमा कार्यरत मजदुर तथा कर्मचारीले १३ महिनादेखि तलब भत्तालगायतका कुनै पनि सेवा सुविधा नपाएपछि शुक्रबार मूल ढोकामा नै पत्रकार सम्मेल आयोजना गरी अनिश्चितकालीन आन्दोलनमा उत्रिएका छन् ।

मजदुर नेता देवेन्द्र झाका अनुसार २०८१ चैतदेखि हालसम्मको तलब भुक्तानी हुन बाँकी आठ करोड ८० लाख ५३ हजार, सञ्चय कोष दाखिला हुन बाँकी नौ करोड ५० लाख ९९ हजार १३४ र नागरिक लगानी कोषमा दाखिला हुन बाँकी तीन करोड ६९ लाख ६६ हजार २२२ रुपियाँ छ । यसै गरी कर्मचारीको तीन वर्षदेखिको बिमाबापतको दाखिला हुन बाँकी छ करोड ६० लाख ८१ हजार ७४५, अतिरिक्त कामको ज्याला ७६ लाख चार हजार ३०९, बिदाको रकम एक करोड १५ लाख ३० हजार ७६६ रुपियाँ छ ।

यसै गरी महँगी भत्ताबापतको ५४ लाख, सट्टा बिदाको आठ लाख १७ हजार ५८८ र सुरक्षाकर्मीको २०८२ चैतसम्मको तलब भुक्तानी हुन बाँकी एक करोड ७१ लाख ८६ हजार ३५७ र अवकाश प्राप्त कर्मचारीलाई उद्योगले तिर्नुपर्ने दायित्व ७१ करोड ३७ लाख एक हजार ९४ समेत गरी कुल एक अर्ब चार करोड २४ लाख १३ हजार २८२ रुपियाँको आर्थिक दायित्व तत्काल सम्बोधन गर्नुपर्ने चुनौती उद्योगमा छ । उद्योगमा जीवनभर काम गरेपछि यसअघि नै अनिवार्य अवकाश प्राप्त गरेका तर सेवा सुविधा हालसम्म पनि नपाई मृत्यु भइसकेका पनि छन् ।

मृत्युपर्यन्त पनि उद्योगले दिनुपर्ने सेवा सुविधा नदिएका मृतक कर्मचारीमा अशोककुमार चौधरी आठौँ तह, हेमकुमार दाहाल र रामेश्वर कानु सातौँ तह, लक्ष्मी चौधरी र नेत्रप्रसाद आचार्य पाँचौ तह तथा चन्द्रकान्त चौधरी, शैलेन्द्र ठाकुर र उपेन्द्रबहादुर रखाल चौथो तह रहेको मजदुर नेता झाले बताउनुभयो । उद्योगका निमित्त महाप्रबन्धक कोविदकुमार काफ्लेसँग यस विषयमा सम्पर्क गर्न प्रयास गर्दा उहाँ सम्पर्कमा आउन चाहनुभएन ।

उमेर हदका कारण अब ४० दिन मात्र उहाँको समय बाँकी रहेको र त्यसमाथि राजीनामा दिएर निमित्त महाप्रबन्धक पनि सम्पर्कविहीन हुनुभएको मजदुर कर्मचारीको भनाइ छ । गत फागुनमा सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा यस क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट निवाचित सांसद पारसमणि गेलालले उदयपुर सिमेन्ट उद्योगको समस्या समाधानमा आफूले संसद्मा जोडदार रूपले कुरा उठाएको र सम्बन्धित मन्त्रालयसँग पनि नियमित रूपमा आवश्यक पहल गरिरहेको बताउनुभयो ।

उहाँले मजदुर कर्मचारीको समस्यालाई आपूmले नजिकबाट नियालिरहेको र उद्योगलाई पुनर्जीवन दिएर सुचारु गराउन लागिपरेको बताउनुभयो ।