इटहरी । तराई क्षेत्रका खेतबारीमा पाइने चराचुरुङ्गी पछिल्लो समय घट्दै गएको पाइएकोे छ । सन् २०१८ देखि तराईका चार जिल्लामा गरिँदै आएको स्थलगत अध्ययनले खेतबारीमा पाइने चरा घट्दै गएको देखाएको हो । तराईको सुनसरी, चितवन, कपिलवस्तु र सर्लाही जिल्लामा आठ वर्षदेखि विज्ञ टोलीद्वारा गरिँदै आएको अध्ययन अनुसार खेतबारीमा पाउने चरा घट्दै गएको डाक्टर हेमबहादुर कटुवालले बताउनुभयो । खेतबारीमा पाउने चराचुरुङ्गी विषयमै विद्यावारिधि गर्नुभएका कटुवालका अनुसार जाडो, गर्मी र बर्खायाममा गरिएको अध्ययनमा नेपालको तराई क्षेत्रका खेतबारीमा पाउने चरा घट्दो अवस्थामा रहेको पाइएको छ ।
कृषि प्रणालीमा आएको परिवर्तन, रासायनिक विषादीको अत्यधिक प्रयोग, बासस्थानको अभाव तथा जलवायु परिवर्तनका कारण खेतबारीमा आश्रित चरा कम देखिन थालेको डा.कटुवालको भनाइ छ । चिनियाँ विज्ञान प्रतिष्ठानको सहयोगमा तराईका चार जिल्लाका खेतबारीमा पाउने चराको अध्ययन गरिँदै आएको बताइएको छ । अध्ययनका व्रmममा चराको विविधता, सङ्ख्या, प्रजनन अवस्था तथा बासस्थान प्रणालीबारे तथ्याङ्क सङ्कलन गरिँदै आएको छ । अध्ययनको प्रतिवेदन अगामी वर्ष सार्वजनिक गर्ने तयारी रहेको चिनियाँ विज्ञान प्रतिष्ठानका सहायक प्रध्यापकसमेत रहेका डा.हेमबहादुर कटुवालले बताउनुभयो । चराको अध्ययन गर्न विज्ञ टोलीले रेखामार्ग बनाएर खेतबारीमा पाउने चराको स्थलगत अध्ययन गर्दै आएको बताइएको छ ।
सुनसरीमा २६, सर्लाहीमा २४, चितवनमा र कपिलवस्तु जिल्लामा २५ वटा रेखामार्ग बनाएर एक सय रेखामार्गमार्फत खेतबारीमा पाउने चराको स्थलगत अध्ययन गर्दै आएको चराविज्ञ अनिष तिम्सिनाले बताउनुभयो । उहाँका अनुसार एउटा रेखामार्गदेखि अर्को रेखामार्ग चारदेखि छ किलोमिटर दुरी कायम गरिएको छ । एउटा रेखामार्गको पाँच सय मिटर आसपास क्षेत्रको चारैतिर आधुनिक उपकरणको प्रयोग गरेर चराको अध्ययन गर्ने गरिएको तिम्सिनाले जानकारी दिनुभयो । खेतबारीमा आधारित अध्ययन प्रणालीले चराचुरुङ्गीको वास्तविक अवस्थाबारे थहा पाउन सकिने उहाँको भनाइ छ ।
डा. हेमबहादुर कटुवालका अनुसार नेपालमा पाइने ९०३ प्रजातिका चरामध्ये करिब ७० प्रतिशत चरा खेतबारी क्षेत्रमा पाइन्छन् । करिब ६३८ प्रजातिका चराले खेतबारीलाई बासस्थानका रूपमा प्रयोग गर्ने अभिलेख गरिएको र १७० प्रजातिका चराले खेतबारीमै प्रजनन गर्ने गरेको उहाँले बताउनुभयो । कृषि क्षेत्र र जैविक विविधताबिच गहिरो सम्बन्ध रहेकाले खेतबारी संरक्षणसँगै चराचुरुङ्गी संरक्षणलाई पनि प्राथमिकता दिनुपर्ने उहाँको भनाइ छ । खेतबारीमा पाइने चराले हानिकारक किरा तथा फट्याङ्ग्रा खाएर वातावरणीय सन्तुलन कायम राख्न सहयोग पु¥याउने गर्छन् । खेतबारीमा अत्यधिक प्रयोग हुने रासायनिक विषादीका कारण चराको प्रजनन क्षमता कमजोर बन्दै गएको विज्ञले बताएका छन् ।
विषादीयुक्त किरा तथा अन्न सेवन गर्दा चराको अन्डा उत्पादन घट्ने, बच्चा हुर्काउने प्रव्रिmयामा असर पर्ने र दीर्घकालीन रूपमा सङ्ख्या घट्दै जाने समस्या देखिएको बताइएको छ । विविध कारणले चरा घट्दै जाँदा पारिस्थितिकीय पद्धतिमै असर पुग्ने कटुवाल बताउनुहुन्छ । चराविज्ञका अनुसार चरालाई जोखिम पु¥याउने मुख्य कारणमा चोरीसिकारी, विद्युतीय तारमा हुने करेन्ट, मानवबस्ती विस्तार, वन फँडानी तथा कृषियोग्य भूमिको विनाश रहेका छन् । समुदायको चेतनामा कमी, जलवायु परिवर्तनका कारण मौसममा आएको असन्तुलनले समेत चराको जीवनचक्रमा समेत असर पारेको जनाइएको छ । कृषि भूदृश्यको महŒवलाई विद्यमान कृषि नीतिमा बेवास्ता गर्दा खेतबारीमा पाउने चराको संरक्षण हुन नसकेको डा.कटुवाल बताउनुहुन्छ । चरा संरक्षणका लागि समुदायमा जनचेतना कार्यक्रम गर्दै दिगो कृषि अभ्यासको प्रवर्धन गर्न र चरामैत्री कृषि अभ्यासलाई प्रोत्साहन गर्न उहाँ सुझाउनुहुन्छ ।

