इटहरी। ऐतिहासिक तथा पुरातात्त्विक सम्पदा टक्सारलाई संरक्षण गर्दै सर्वसाधारणको पहुँचमा ल्याउन सके नेपाल सरकारले घोषणा गरेको पर्यटन वर्ष २०८२ सफल बनाउन महत्त्वपूर्ण योगदान पुग्ने देखिन्छ । धनकुटाबाट निष्कासन गरिएका सिक्का (ढ्याक), सिक्का बनाउने मेसिन, कच्चा सिसा तथा टक्सार घर अझै पनि धनकुटामै सुरक्षित अवस्थामा रहेका छन् । मुद्रा निष्कासनको इतिहास रोचक भए पनि यस विषयमा खोज तथा अनुसन्धान कम भएको पाइन्छ ।
धनकुटाका ऐतिहासिक, पुरातात्त्विक तथा धार्मिक सम्पदाहरू पञ्चकन्या देवीको गुफा, दक्षिणकाली मन्दिरका घण्टहरू, मधुगङ्गा, धर्मगङ्गा, छिन्ताङ देवी मन्दिर, निशान भगवती मन्दिर, विश्रान्ति मन्दिर, गुम्बा, भेडेटारस्थित नमस्ते झरना, पाथीभरा देवी मन्दिर, शङ्खेश्वर महादेव, काली झरना, रानीताल, बक्रकुण्ड पञ्चेश्वर महादेव, शिवमन्दिर, राममन्दिरलगायत रहेका छन् । यस्तै ऐतिहासिक तथा पुरातात्त्विक दृष्टिले महत्त्वपूर्ण धनकुटाको टक्सार, राष्ट्रिय सङ्ग्रहालय, राष्ट्रिय मुद्रा सङ्ग्रहालय, नेपाल राष्ट्र बैंक, पुरातत्व विभाग तथा टक्सार विभाग महाशाखालगायत निकायहरूको आकर्षणको केन्द्र बन्दै गएको छ ।राणाकालीन समयमा धनकुटामा हालको भीमदल गण सल्लेरी ब्यारेक परिसरमा टक्सार (सिक्का छाप्ने कारखाना) रहेको थियो । त्यसबेला धनकुटा पूर्वाञ्चल विकास क्षेत्रअन्तर्गत ‘गौणाका’ रूपमा परिचित रहेको अभिलेखमा उल्लेख छ ।
त्यस समयमा पानीबाट चल्ने सिक्का निष्कासन गर्ने मेसिन प्रयोग गरिएको र त्यसलाई ‘पानढिकी टक्सार घर’ पनि भनिन्थ्यो । उक्त मेसिनबाट तामाका दुई पैसा र पाँच पैसाका सिक्का (ढ्याक) निकालिने गरिन्थ्यो । उक्त मेसिन हाल पनि धनकुटा नगरपालिका–४ सल्लेरी ब्यारेक परिसरमा सुरक्षित अवस्थामा रहेको बताइन्छ । वि.सं. १९८७ मा तत्कालीन बडाहाकिम कर्णेल राजशमशेरको समयमा धनकुटामा सिक्का छाप्ने मेसिन ल्याइएको उल्लेख नरपति पोखरेलको कृतिमा पाइन्छ । त्यतिबेला टक्सार विभाग स्थापना गरी सिक्का निष्कासन गरिएको थियो । त्यस समयमा प्रयोगमा रहेका तामाका दुई पैसा र पाँच पैसाका सिक्कामा ‘श्री भवानी’ र ‘श्री ५ त्रिभुवन’ लेखिएको पाइन्छ । अत्यन्त भारी र फलामको उक्त मेसिन भारतबाट धनकुटासम्म कठिन बाटो हुँदै ल्याइएको ऐतिहासिक वर्णन छ । टक्सार बन्द भएपछि उक्त मेसिन हालको स्थानमा सारिएको प्राध्यापक डा. गोपालबहादुर भट्टराईले बताउनुभयो ।
ऐतिहासिक टक्सार संरक्षण र अध्ययनका लागि खुला गर्न सके पर्यटन प्रवद्र्धनमा ठुलो योगदान पुग्ने सरोकारवालाहरूको भनाइ छ । उपरथी डा. आसबहादुर तामाङका अनुसार टक्सारको संरक्षण गरी अध्ययन–अवलोकनका लागि खुला गर्न सके भावी पुस्ताले इतिहास बुझ्न सक्नेछन् । धनकुटा नगरपालिकाले टक्सारलाई पर्यटकीय तथा शैक्षिक केन्द्रका रूपमा विकास गर्ने योजना बनाएको जनाएको छ । धनकुटाका नगरप्रमुख चिन्तन तामाङका अनुसार टक्सारलाई संग्रहालयका रूपमा विकास गरी पर्यटक आकर्षण बढाउन सकिनेछ । पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गका अनुसार टक्सार संरक्षण तथा जिर्णोद्धारका लागि चालु आर्थिक वर्षमा पाँच लाख रुपियाँ विनियोजन गरिएको छ । टक्सार भवनको जिर्णोद्धारका लागि ठेक्का प्रक्रिया अघि बढाइएको पनि उहाँले जानकारी दिनुभयो ।
हाल टक्सार नेपाली सेनाको संरक्षणमा सुरक्षित रहेको छ । भीमदल गणका गणपति प्रमुख सेनानी गणेश थापाका अनुसार सिक्का छाप्ने मेसिन र सामग्रीहरू सुरक्षित रूपमा राखिएका छन् । सरोकारवाला निकायहरूले टक्सारलाई सर्वसाधारणका लागि खुला गरी संग्रहालयका रूपमा विकास गर्न सके पर्यटन प्रवद्र्धनमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् । धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ राईका अनुसार टक्सारलाई व्यवस्थित रूपमा संरक्षण गरी पर्यटकका लागि अवलोकनयोग्य बनाउन सकिनेछ । स्थानीय तथा सरोकारवाला निकायहरूले टक्सारलाई संरक्षण गर्दै सर्वसाधारणको पहुँचमा ल्याउन सके पर्यटन वर्ष २०८२ सफल बनाउन योगदान पुग्ने अपेक्षा गरेका छन् ।


