इटहरी । खिजीदेम्बा गाउँपालिकामा सञ्चालित लिखु–४ जलविद्युत् आयोजनाले सामाजिक उत्तरदायित्व तथा वातावरणीय प्रभाव न्यूनीकरणका नाममा खर्च गरेको दुई करोड ५१ लाख ६३ हजार ९१० रुपियाँको विवरण सार्वजनिक भएपछि त्यसको प्रभावकारिता र पारदर्शितामाथि प्रश्न उठेको छ । ग्रिन भेन्चर्स लिमिटेडद्वारा निर्माण गरिएको आयोजनाले गाउँपालिकाको आग्रहपछि २०८३ जेठ ७ गते खर्च विवरणसहितको प्रतिवेदन बुझाएको हो ।कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रीधर खनालले हस्ताक्षर गरी पठाउनु भएको प्रतिवेदनमा वडा नं। १, २ र ३ मा विभिन्न शीर्षकमा रकम खर्च गरिएको उल्लेख गरिएको छ ।

आयोजनाले सामाजिक उत्तरदायित्व तथा वातावरणीय प्रभाव न्यूनीकरणका नाममा गरेको खर्च विवरण सार्वजनिक गराउन प्रभावित क्षेत्रका स्थानीयले गाउँपालिका सँग माग गरेका थिए । प्रतिवेदन अनुसार ती तीन वडाका लागि दुई करोड नौ लाख ८२ हजार ४१७ रुपैयाँ विनियोजन गरिएकोमा विभिन्न चरणमा दुई करोड १५ लाख ५४ हजार ७४८ रुपैयाँ खर्च भएको जनाइएको छ । गाउँपालिका मार्फत गरिएको थप तीन लाख २५ हजार रुपिपाँसमेत जोड्दा कुल खर्च दुई करोड ५१ लाखभन्दा बढी पुगेको कम्पनीको दाबी छ ।कम्पनीले अधिकांश रकम वडा अध्यक्षको सिफारिस तथा उपभोक्ता समितिको मागका आधारमा चेकमार्फत भुक्तानी गरिएको जनाएको छ ।

वडा नं.१ मा ८४ लाख ९८ हजार ९३३ रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ ।ग्रामीण विद्युतीकरण, खेलमैदान निर्माण, विद्यालय सहयोग तथा एम्बुलेन्स खरिदका लागि रकम उपलब्ध गराइएको कम्पनीले जनाएको छ । यद्यपि, एम्बुलेन्स खरिदका लागि २०७८ भदौमा छ लाख रुपैयाँ लिइएको भए पनि हालसम्म एम्बुलेन्स खरिद नभएको विषयले स्थानीयस्तरमा थप चासो बढाएको छ । हिमालयन सामुदायिक संस्थानका लागि उक्त रकम बुझिएको विवरण सार्वजनिक भएपछि रकम उपयोगबारे प्रश्न उठेको हो । यस विषयमा संस्थासँग सम्बन्धित रोशन महतराले सामाजिक सञ्जालमार्फत कोरोना महामारीलगायत कारणले खरिद प्रक्रिया पूरा हुन नसकेको र रकम संस्थामै सुरक्षित रहेको स्पष्टिकरण दिएका छन् ।

यसैगरी, मन्दिर, घाट तथा अन्य सामुदायिक संरचनाका नाममा विभिन्न व्यक्तिले लाखौँ रुपैयाँ बुझेको विवरणसमेत सार्वजनिक भएपछि खर्चको पारदर्शितामाथि स्थानीयले आशङ्का व्यक्त गरेका छन् । वडा नं।२ मा ४४ लाख १३९ रुपियाँ खर्च गरिएको कम्पनीले जनाएको छ । त्यसमध्ये फेताले–धाप–नास्पु सडक निर्माणका लागि २५ लाख रुपैयाँ तथा ग्रामीण विद्युतीकरणका लागि १५ लाख रुपैयाँ खर्च गरिएको उल्लेख छ ।वडा नं।३ मा सबैभन्दा बढी ८६ लाख ५५ हजार ६७६ रुपैयाँ खर्च भएको प्रतिवेदनमा उल्लेख छ । खेलमैदान निर्माण, खिस्री खोला लघु जलविद्युत् मर्मत तथा सार्वजनिक सभाहल निर्माणमा उक्त रकम खर्च गरिएको कम्पनीले जनाएको छ ।कम्पनीले प्रभावित क्षेत्रका स्थानीयलाई ३१ करोड २५ लाख रुपैयाँ बराबरको शेयर वितरण गरिसकेको तथा सरकारलाई नियमित रूपमा रोयल्टी बुझाउँदै आएको दाबी गरेको छ ।

गाउँपालिकाले स्थानीय शेयर, राजस्व, रोजगारी, समन्वय तथा क्षतिपूर्तिसम्बन्धी विषयमा कम्पनीसँग लिखित जवाफ मागेपछि खर्च विवरण सार्वजनिक भएको हो ।स्थानीय सन्तोष खड्काले सार्वजनिक गरिएको खर्च विवरणको सदुपयोग भए–नभएको विषयमा निष्पक्ष छानबिन आवश्यक रहेको बताउनुभयो । उहाँले कम्पनी बाट बजेट लिएका कार्यालय तथा व्यक्तिहरुले सदुपयोग गरे–नगरेको बारे सत्यतथ्य सार्वजनिक हुनुपर्ने धारणा राख्नुभयो । यस विषयमा स्थानियबासीको लामो समय देखीको गुनासो रहेकोले सत्य तथ्य छानविनका लागि पहल गरिने गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले बताउनुभयो ।खर्चको ठूलो विवरण सार्वजनिक भएपछि कतिपय स्थानीय अचम्मित बनेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट २०६८ फागुन २८ गते अनुमति प्राप्त आयोजना २०७८ कात्तिक २१ गतेदेखि सञ्चालनमा आएको थियो ।