इटहरी। मङ्गलबार राति आएको हावाहुरीका कारण झापाको बाह्रदशी गाउँपालिकामा साढे ३ करोड रुपियाँभन्दा बढीको केरा खेतीमा क्षति पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बाह्रदशी गाउँपालिका–७ मा ६० बिघा क्षेत्रफलमा लगाइएको केरा खेतीमध्ये ३२ बिघामा ठुलो क्षति पुगेको हो । स्थानीय किसानहरूले व्यावसायिक रूपमा लगाएको केरा खेतीमा हावाहुरीले व्यापक नोक्सानी पुर्‍याएको जिल्ला प्रहरी कार्यालय झापाले सार्वजनिक गरेको प्रारम्भिक विवरणमा उल्लेख छ ।

क्षतिको प्रारम्भिक अनुमान करिब तीन करोड ६० लाख रुपियाँ बराबर रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख बसुन्धरा खड्काले जानकारी दिनुभयो ।कृषि ज्ञान केन्द्र झापाका अनुसार स्थानीय तहका कृषि शाखामार्फत विस्तृत क्षति विवरण सङ्कलन गर्ने काम भइरहेको छ । हावाहुरीका कारण झापाका विभिन्न क्षेत्रमा किसानले लगाएका बालीनालीमा समेत क्षति पुगेको जनाइएको छ ।