इटहरी । उदयपुरको चौदण्डीगढी नगरपालिका–९ हडियामा व्यावसायिक खरबुजा खेती आकर्षणको केन्द्र बन्दै गएको छ ।

केही वर्षअघि नदी कटानका कारण उपयोग विहीन बनेको बालुवायुक्त जमिन अहिले हरियालीले भरिएको छ । स्थानीय युवा कृषक पुलकित चौधरीले करिब ६ बिगा क्षेत्रफलमा अर्गानिक खरबुजा खेती सुरु गर्दै उदाहरणीय काम गर्नुभएको हो । गर्मी मौसममा अत्यधिक रुचाइने फल खरबुजाको माग बढिरहेका बेला यस वर्ष मात्रै करिब ३ हजार केजी भन्दा बढी उत्पादन भएको कृषक चौधरीले बताउनुभयो । विषादीरहित, स्वादिलो र रसिलो खरबुजाले बजारमा राम्रो प्रतिक्रिया पाएको उहाँको भनाइ छ ।

आगामी वर्ष थप जमिन लिजमा लिएर खेती विस्तार गरी ९ देखि १० बिगा सम्म पु¥याउने योजना पनि उहाँले बनाउनुभएको छ । खरबुजा खेतीसँगै बेमौसमी तरकारी उत्पादनको तयारी समेत भइरहेको छ । कृषिलाई दीर्घकालीन आम्दानी र रोजगारीको आधार बनाउने लक्ष्यसहित अघि बढेको यस योजनाले आगामी दिनमा ३० देखि ४० जनासम्मलाई प्रत्यक्ष रोजगारी दिने अपेक्षा गरिएको छ ।

चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामाले अर्गानिक तथा नमुना खेतीलाई नगरपालिकाले आवश्यक सहयोग गर्ने बताउनुभएको छ । बलौटे तथा दोमट माटो खरबुजा खेतीका लागि उपयुक्त मानिने भएकाले उदयपुरको त्रियुगा नदी आसपासका क्षेत्रमा यसको ठूलो सम्भावना रहेको कृषकहरू बताउँछन् । कृषिमा सम्भावना खोज्दै युवाहरू गाउँमै स्वरोजगार बन्ने अवसर प्राप्त हुन थालेपछि उदयपुरमा व्यावसायिक खरबुजा खेतीप्रति आकर्षण बढ्दै गएको देखिएको छ ।