इटहरी। धनकुटा नगर क्षेत्रमा सार्वजनिक ट्याम्पु चलाउने एकमात्र महिला चालक तृष्णा राईलाई नगदसहित सम्मान गरिएको छ।

आठौँ राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्य परियोजना कार्यान्वयन इकाइ, धनकुटा नगरपालिकाले आयोजना गरेको अन्तरक्रिया तथा सम्मान कार्यक्रममा उहाँलाई नगद र सम्मानपत्रसहित सम्मान गरिएको हो। ‘महिला अधिकारको सम्मान  आत्मनिर्भरता र समृद्धिको अभियान’ भन्ने मूल नाराका साथ मनाइएको दिवसका अवसरमा धनकुटा नगरपालिका–७ टोमुवाकी राईलाई नगद ६ हजार रुपियाँसहित सम्मानपत्र प्रदान गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति धनकुटाकी उपप्रमुख सावित्रा राई तथा धनकुटा नगरपालिकाकी उपप्रमुख भीमादेवी खनाललगायतले संयुक्त रूपमा सम्मानपत्र र नगद हस्तान्तरण गर्नुभएको थियो।

धनकुटा नगरपालिकाभित्र सञ्चालन हुने सार्वजनिक यातायात सेवामा एकमात्र महिला सवारी चालकका रूपमा सक्रिय भूमिका निर्वाह गर्दै महिलाको रोजगारी र सशक्तीकरणमा महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै राईलाई सम्मान गरिएको धनकुटा नगरपालिकाकी उपप्रमुख खनालले बताउनुभयो। ३५ वर्षीया राई विगत दुई वर्षदेखि धनकुटा नगर क्षेत्रमा ट्याम्पु चालकका रूपमा कार्यरत हुनुहुन्छ। उहाँले यस क्षेत्रमा आउनुअघि धनकुटाको एक विद्यालयमा कार्यालय सहयोगीका रूपमा काम गर्दै आएको बताउनुभयो। राईको परिवारमा ३७ वर्षीय श्रीमान् र सात वर्षीय एक छोरा छन्। उहाँका श्रीमान् दृष्टिविहीन हुनुहुन्छ र हाल पाँचथर जिल्लाको एक विद्यालयमा शिक्षण पेसामा आबद्ध हुनुहुन्छ।

राईले ट्याम्पु सञ्चालनबाट मासिक सरदर ३५ हजारदेखि ४० हजार रुपियाँसम्म आम्दानी हुने गरेको बताउनुभयो। आफू यस पेसाबाट सन्तुष्ट रहेको उल्लेख गर्दै उहाँले सवारी सञ्चालन गर्दा आफ्नो मात्र होइन, यात्रुको सुरक्षाको जिम्मेवारी पनि वहन गर्नुपर्ने बताउनुभयो। यसै अवसरमा धनकुटा नगरपालिका–५ की रेणु श्रेष्ठलाई पनि सम्मानपत्र प्रदान गरिएको थियो। महिला सीप विकास क्षेत्रमा प्रशिक्षकका रूपमा सक्रिय भई महिला सशक्तीकरणमा योगदान पुर्‍याएको भन्दै उहाँलाई सम्मान गरिएको जनाइएको छ।आठौँ राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी परामर्श कार्यक्रमसमेत आयोजना गरिएको थियो। कार्यक्रममा लैङ्गिक हिंसा प्रतिकार्य मञ्चका सदस्य, स्थानीय सङ्घसंस्थाका प्रतिनिधि, लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि खटिएका किशोर–किशोरी, ओसीएमसीका प्रतिनिधि, महिला पुनःस्थापना सेवा केन्द्रका प्रतिनिधि, जिल्ला प्रहरी कार्यालयअन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका प्रतिनिधि, निःशुल्क कानुनी सहायता समितिका पदाधिकारी तथा जनप्रतिनिधिको उपस्थिति रहेको थियो।