इटहरी। पाँचथरको फिदिम नगरपालिकाले चालु आर्थिक वर्षमा किसानलाई दुई करोड ६० लाख ५७ हजार २ सय ९३ रुपियाँ बराबरका कृषि औजार तथा उपकरण हस्तान्तरण गरेको छ ।

नगरपालिकाले ५० प्रतिशत लागत साझेदारी कार्यक्रम अन्तर्गत विभिन्न कृषि सामग्री खरिद गरी किसानलाई उपलब्ध गराएको हो । नगरपालिकाको कृषि शाखाका अनुसार यस वर्ष कुल एक हजार २ सय ७४ थान कृषि सामग्री वितरण गरिएको छ । नगर प्रमुख मित्रप्रसाद काफ्लेका अनुसार नगरपालिकाले १ सय ८० थान मिनी टिलर, ३ सय ६१ थान कम्बाइन राइस मिल, चार थान कर्न थ्रेसर, दुई थान तेल पेल्ने मिल, पाँच थान ब्रस कटर, ३० थान प्लास्टिक टनेल, २ सय ७२ थान ग्रिनहाउस टनेल, सात थान प्लास्टिक पोखरी, ४० थान नेप्स्याक स्प्रेयर, १ सय १२ थान चाफ कटर, १ सय ६७ थान काउ म्याट, सात थान मिल्क एनालाइजर, २१ थान डिप फ्रिज तथा ६६ थान पानी ट्याङ्की वितरण गरेको हो ।

नगरपालिकाले कृषि क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग बढाउँदै उत्पादन लागत घटाउने र किसानको आम्दानी वृद्धि गर्ने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरेको हो । कृषिलाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन यान्त्रिकीकरण अपरिहार्य भएकाले नगरपालिकाले प्रत्येक वर्ष यस्ता कार्यक्रमलाई प्राथमिकता दिँदै आएको नगर प्रमुख काफ्लेले बताउनुभयो ।नगरपालिकाले सार्वजनिक खरिद प्रक्रिया अन्तर्गत ई–बिडिङमार्फत सामग्री खरिद गरी छनोट भएका कृषक तथा कृषक समूहलाई वितरण गरेको जनाएको छ । विशेषगरी मिनी टिलर, कम्बाइन राइस मिल, ग्रिनहाउस टनेल र काउ म्याटको माग बढी रहेको तथा ती सामग्री सबैभन्दा धेरै सङ्ख्यामा वितरण गरिएको काफ्लेको भनाइ छ ।

कृषि क्षेत्रमा आधुनिक उपकरणको प्रयोग बढेसँगै खेतबारीमा श्रमको अभाव कम हुने, उत्पादन लागत घट्ने र उत्पादकत्व वृद्धि हुने अपेक्षा गरिएको छ । दुग्ध उत्पादन तथा पशुपालनलाई थप व्यवस्थित बनाउन मिल्क एनालाइजर, काउ म्याट र डिप फ्रिजजस्ता सामग्री पनि वितरण गरिएको उहाँले बताउनुभयो । नगरपालिकाले अघिल्लो आर्थिक वर्षमा पनि तीन करोड रुपियाँभन्दा बढी मूल्यका कृषि औजार तथा उपकरण किसानलाई उपलब्ध गराएको थियो । निरन्तरको लगानीले कृषिलाई परम्परागत अभ्यासबाट व्यवसायिक र प्रविधिमैत्री बनाउने दिशामा सकारात्मक परिणाम देखिन थालेको किसानहरूको प्रतिक्रिया छ ।