इटहरी । नेपालमा ओमोडा तथा जेकु ब्रान्डको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले बहुप्रतीक्षित विद्युतीय स्पोर्ट्स युटिलिटी गाडी ९एसयूभी० ओमोडा ई–फाइभ प्रो लाई इटहरीमा औपचारिक रूपमा सार्वजनिक गरेको छ।

इटहरीस्थित शोरुममा आयोजित कार्यक्रममा उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जीवन पराजुली, ओमोडा तथा जेकु ब्रान्डका प्रतिनिधि र प्रविधिमैत्री रोबर्टले संयुक्त रूपमा शोरुम उद्घाटन गरेका थिए। कम्पनीका अनुसार नेपालभर हालसम्म ओमोडा ई–फाइभका एक हजार पाँच सयभन्दा बढी गाडी सञ्चालनमा आइसकेका छन्। नयाँ ई–फाइभ प्रो अझ परिष्कृत प्रविधि, उत्कृष्ट सुविधा तथा आधुनिक सवारी अनुभवसहित बजारमा ल्याइएको हो।

नयाँ मोडलमा ५० दशमलव ७ किलोवाट–घण्टा क्षमताको ब्याट्री, ९९ किलोवाट क्षमताको विद्युतीय मोटर तथा २८८ न्युटन–मिटर टर्क रहेको छ। यसले एकपटक पूर्ण चार्ज गर्दा अन्तर्राष्ट्रिय डब्लुएलटीपी मापदण्डअनुसार ३५० किलोमिटरसम्म यात्रा गर्न सक्ने कम्पनीले जनाएको छ। साथै १९१ मिलिमिटर भू–सतह दूरी र १८ इन्चका मिश्रधातु चक्काका कारण नेपाली सडकका लागि उपयुक्त रहेको कम्पनीको भनाइ छ। गाडीको बाह्य स्वरूप भविष्यमुखी अवधारणामा आधारित छ। आकर्षक अगाडिको भाग, हावाको चापलाई सहज रूपमा पार गर्ने बनावट तथा विशेष ‘फ्यान्टम विङ’ डिजाइनले यसको सौन्दर्य बढाएको छ। भित्री भागमा आरामदायी क्याबिन, गुणस्तरीय सामग्री तथा अत्याधुनिक प्रविधिको प्रयोग गरिएको छ। यसमा चालकका लागि मसाज सुविधा भएको सिट, आठवटा सोनी ध्वनि उपकरणसहितको उत्कृष्ट श्रव्य प्रणाली तथा १५ दशमलव ६ इन्चको फराकिलो स्पर्श–सञ्चालित सूचना तथा मनोरञ्जन प्रदर्शन प्रणाली जडान गरिएको छ। यी सुविधाले यात्रालाई थप सहज र मनोरञ्जनपूर्ण बनाउने कम्पनीको विश्वास छ।

सुरक्षातर्फ गाडीमा १९ भन्दा बढी उन्नत चालक सहायता प्रणाली तथा ५४० डिग्री वरिपरिको दृश्य देखाउने क्यामेरा प्रणाली जडान गरिएको छ। यसले चालकलाई सुरक्षित र आत्मविश्वासका साथ सवारी चलाउन सहयोग पुर्‍याउने कम्पनीले जनाएको छ। कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जीवन पराजुलीले नेपाली बजारमा ओमोडा ब्रान्डले छोटो समयमै ग्राहकको विश्वास जित्न सफल भएको उल्लेख गर्दै आगामी दिनमा यसको लोकप्रियता अझ बढ्ने अपेक्षा व्यक्त गर्नुभयो।

कम्पनीले ओमोडा ई–फाइभ प्रोको एकरङ्गी संस्करणको मूल्य ५२ लाख ५५ हजार रुपैयाँ तथा दुईरङ्गी संस्करणको मूल्य ५२ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेको जनाएको छ। सार्वजनिक अवसरको विशेष योजनाअन्तर्गत पहिलो ५० ग्राहकलाई ४९ लाख ९९ हजार रुपैयाँमै गाडी उपलब्ध गराइने र एक वर्षको निःशुल्क सवारी बीमा सुविधा प्रदान गरिने घोषणा गरिएको छ।

एसपीजी अटोमोबाइल्सका अनुसार नयाँ ओमोडा ई–फाइभ प्रो इटहरीस्थित आधिकारिक शोरुममा अवलोकन तथा बुकिङका लागि उपलब्ध भइसकेको छ।