इटहरी । रङ्गेली नगरपालिकाले ६ सय मेट्रिक टनको शीतभण्डार निर्माण गरेपछि यहाँका स्थानीय कृषक लाभान्वित हुने आशा राख्न थालेका हुन् ।
रङ्गेली नगरपालिका–७ का कृषक रामनरेश महतो उत्पादन भएका तरकारी तत्काल बिक्री गर्न नसक्दा त्यसबाट हुने नोक्सानी रोक्न ‘कोल्ड स्टोरेज’ ले सहयोग पुग्ने अपेक्षामा रहेको बताउनुहुन्छ । मोरङको रङ्गेलीमा २०६६ सालदेखि शीतभण्डार (कोल्ड स्टोरेज) स्थापनाको प्रयास स्थानीय सरकार बनेपछि सफलताउन्मुख बनेको छ । गान्धी तुलसी स्मारक चर्खा महागुठीको जग्गामा शीतभण्डारका लागि संरचना निर्माण भए पनि त्यो सञ्चालनमा आउन नसक्दा स्थानीय उत्पादन व्यवस्थापनमा सहज थिएन । कोशी प्रदेश सरकार र रङ्गेली नगरपालिकाको लागत साझेदारीमा पाँच करोड लगानीमा नयाँ शीतभण्डार निर्माण अन्तिम चरणमा पुगेको प्रमुख प्रशासकीय अधिकृत प्रदीपकुमार साहले जानकारी दिनुभयो । उहाँका अनुसार रङ्गेलीमा लामो समयदेखि कोल्ड स्टोरेजको माग हुँदै आएको थियो ।
विभिन्न कारणले बन्न नसक्दा यहाँका किसानले उत्पादन गरेको कृषिजन्य वस्तुले मूल्य पाउन सकिरहेको थिएन । रङ्गेली नगरपालिकाले गत तीन वर्षअगाडिदेखि सुरु गरेको काम अब परिणामउन्मुख बनेको उहाँले बताउनुभयो । आगामी असारसम्ममा निर्माणका काम सम्पन्न भएर यसको सञ्चालन प्रव्रिmया बढ्ने बताइएको छ । रङ्गेली नगरपालिकाका इन्जिनियर सुरजकुमार मण्डलका अनुसार यो शीत भण्डार आधुनिक र व्यावसायिक ढाँचामा बनेको छ । जसलाई सञ्चालन गर्न सहज हुने छ । तर रङ्गेलीले तीन ‘कम्पार्टमेन्ट’ मा छ वटा अलग अलग ‘चेम्बर’ बनाएको छ । जसमा भण्डारण गर्ने वस्तु अभाव हुँदा एउटा मात्रै चलाएर बाँकी बन्द गर्न मिल्ने छ । छ सय टन क्षमताको शीतभण्डारको एउटा चेम्बरमा ५० टन क्षमता रहेको छ ।
थोरै सामान हुँदा एउटा मात्रै चेम्बरलाई चालु अवस्थामा राखेर बाँकीलाई रोक्न मिल्ने छ । प्रमुख प्रशासकीय अधिकृत साहका अनुसार स्थानीय किसानको माग अनुसार नै यसलाई निर्माण गरिएको हो । यसमा स्थानीय सरकारले किसानका उत्पादनको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गर्न सक्ने सुविधा रहेको छ । त्यसबाहेक व्यावसायिक रूपमा प्रयोग गर्नसमेत दिन मिल्ने छ । जस्तै तीन वटा चेम्बर मात्रै स्थानीय उत्पादनले भरिने अवस्था आएमा बाँकी तीन व्यापारिक वा व्यावसायिक हिसाबले पनि दिन मिल्ने छ । यसको सञ्चालन तथा व्यवस्थापनमा आर्थिक सङ्कट कम पर्ने र किसानका उत्पादन भण्डारण गर्न गर्दा लागत घट्ने सम्भावनालाई आकलन गरिएको छ ।
\कोल्ड स्टोर निर्माणका लागि सात करोड चार लाख चार हजार १३४ लागत अनुमान गरिएकोमा चार करोड ९६ लाख ६६ हजार ४५८ रुपियाँमा ठेक्का व्यवस्थापन भएको इन्जिनियर मण्डलले जानकारी दिनुभयो । गत असार मसान्तमा यसको निर्माण सम्पन्न गर्नुपर्ने अवधि भए पनि निर्माण कम्पनी दाप्सा सिम्पाने जेभी चार्लीकोट दोलखाले एक वर्षको म्याद थप माग्दा ५० लाख लागत बढेको छ । कोल्ड स्टोरेजमा रहेका छ वटा च्याम्बरलाई तरकारी, कृषि उपज र फ्रुजन (स्विट कोर्न, मटर कोसा, फिङ्गर चिप्स) को जीवन अवधि बढाउन मिल्ने गरी राख्न मिल्ने छ ।
फ्रुजन चेम्बर प्रविधियुक्त भएका कारण माइनस छदेखि नौ डिग्रीसम्मको तापव्रmम व्यवस्थापन हुने छ । रङ्गेलीमा २०६६÷६७ सालमा शीतभण्डार निर्माणका लागि बजेट व्यवस्थापन भएर काम थालिएको थियो । भारतीय दूतावासको सहयोगमा निर्माणका लागि तत्कालीन जिल्ला विकास समिति मोरङबाट महागुठीको खातामा रकम पठाइएको थियो तर संरचना बने पनि सञ्चालनको काम भएन । सम्झौता अनुसार महागुठीले हाल्नुपर्ने भनिएको रकम जुटाउन नसक्दा संरचना नै अलपत्र भएको थियो ।


