इटहरी । नेपाली कांग्रेस पाँचथरका सह–सचिव गजेन्द्र राईले पार्टी परित्यागको घोषणा गर्नुभएको छ ।
लामो समयदेखि कांग्रेसको विभिन्न तह र जिम्मेवारीमा सक्रिय रहँदै आउनुभएका राईले साधारण सदस्य समेत नरहने गरी पार्टीसँगको राजनीतिक सम्बन्ध अन्त्य भएको घोषणा गर्नुभएको हो । बिहीबार सामाजिक सञ्जालमार्फत सार्वजनिक भिडियो सन्देश जारी गर्दै उहाँले कांग्रेसभित्र रहँदा हासिल गरेका अनुभवप्रति सम्मान व्यक्त गर्नुभएको छ । उहाँले आफ्नो राजनीतिक यात्राको नयाँ अध्याय श्रम, उत्पादन र आत्म निर्भरतामुखी अवधारणासँग केन्द्रित हुने सङ्केत गर्नुभएको छ ।
भिडियो सन्देशमा उहाँले कांग्रेसमा रहँदा साथ दिने कार्यकर्तालाई धन्यवाद दिँदै नेतागणमा पनि सम्मान अर्पण गर्नुभएको छ । सोही सन्देशमा उहाँले कांग्रेसका जिल्ला तहका जिम्मेवार पदाधिकारीमध्ये एक मानिनु भएका राईको राजीनामालाई जिल्लाको राजनीतिक वृत्तमा अर्थपूर्ण रूपले हेरिएको छ । राजनीतिसँगै सामाजिक क्षेत्रमा पनि सक्रिय रहँदै आउनुभएका राई युवाहरू माझ लोकप्रिय मानिनुहुन्छ ।
उहाँले ‘हाम्रो सहारा’ नामक संस्थामार्फत विभिन्न मानवीय तथा सामाजिक सेवाको कार्यक्रम सञ्चालन गर्दै आउनुभएको छ । स्वास्थ्य, शिक्षा तथा विपद्को समयमा आपत्कालीन सहयोगसँग सम्बन्धित गतिविधिमा उहाँको सक्रिय सहभागिता रहने गरेको स्थानीयवासी बताउँछन् । राईको पार्टी परित्यागपछि पाँचथरको राजनीतिक समीकरणमा केही प्रभाव पर्न सक्ने आँकलन गरिएको छ ।


