इटहरी ।  कृषिमा यान्त्रिकीकरण र प्राङ्गारिक खेती प्रवर्द्धन गर्ने उद्देश्यले दुहबी  नगरपालिका  प्रमुख बेद नारायण गच्चादारले  कृषकहरूलाई ५० प्रतिशत अनुदानमा कृषि सामग्री तथा कम्बाइन मिल वितरण  गरेका  छन ।

दुहबी नगरपालिकाको ५० प्रतिशत अनुदान तथा उन्नत कृषि सहकारी संस्था, दुहबी–१० को आयोजनामा सम्पन्न कार्यक्रममा करिब ५० हजार रुपैयाँ मूल्यका दुई वटा कम्बाइन मिल वितरण गरिएको हो। उक्त मिल धान, गहुँ, मकै तथा मसला लगायतका बालीको कुटानी–पिसानी कार्यका लागि प्रयोग हुने बताइएको छ। कार्यक्रमअन्तर्गत तीन वटा २० एचपी क्षमताका पावर टेलर, छ वटा समरसियल पम्प, १५ वटा स्प्रे मेसिन, १७५ किलोग्राम डेलिभरी पाइप, दुई हजार किलोग्राम प्राङ्गारिक मल, कालो लुनिया जातको रैथाने धानको बीउ, एक जनालाई बोरिङ तथा २० वटा त्रिपाल समेत वितरण गरिएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै दुहबी नगरपालिकाका नगर प्रमुख बेद नारायण गच्छदारले किसानहरू नगरपालिकाको प्राथमिकतामा रहेको बताउनुभयो।

711688075_971539398954462_3764632440599762241_n

आफू पनि किसान भएकाले कृषकका समस्या र आवश्यकताबारे जानकार रहेको उल्लेख गर्दै उहाँले किसानको हितका लागि नगरपालिकाले निरन्तर सहयोग गर्दै आएको बताउनुभयो। नगर प्रमुख गच्छदारका अनुसार नगरपालिकाको करिब आठ लाख रुपैयाँ र कृषकहरूको आठ लाख रुपैयाँ गरी कुल १६ लाख रुपैयाँ बराबरका कृषि सामग्री वितरण गरिएको हो। उहाँले कृषि क्षेत्रले नेपालको अर्थतन्त्रमा करिब ३० प्रतिशत योगदान पुर्‍याएको उल्लेख गर्दै दुहबीलाई विषादीरहित खेतीतर्फ उन्मुख गराउने योजना रहेको जानकारी दिनुभयो। उहाँले प्रदेश सरकारसँगको समन्वयमा करिब ५६ करोड रुपैयाँ लागतमा एग्रो–प्रोसेसिङ उद्योग स्थापना गर्ने योजना समेत रहेको बताउनुभयो।

उक्त उद्योगमार्फत कृषि उत्पादनको प्रशोधन, भण्डारण तथा मूल्य अभिवृद्धि गरिने जनाइएको छ। कार्यक्रममा मेनुका पोखरेल खतिवडा, विजयकुमार चौधरी, समाजसेवी सर्वेलाल खा थारु, शोभालाल चौधरी, रघुनन्दन खा थारु, उन्नत कृषि सहकारी संस्थाका अध्यक्ष लद्दुराम माझी, उपाध्यक्ष अनिल विश्वास, कृषि शाखा प्रमुख अजय गौतम लगायतको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागी कृषकहरूले यस्ता अनुदानमूलक कार्यक्रमले कृषि उत्पादन वृद्धि, यान्त्रिकीकरण तथा प्राङ्गारिक खेती प्रवर्द्धनमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।