विराटचौक–घिनाघाट सडकलाई कोशी प्रदेशकै नमुना सडकका रूपमा विकास गर्ने उद्देश्यसहित सडक सुशासन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुली को अध्यक्षता तथा भौतिक पूर्वाधार विकास मन्त्री प्रदीप सुनुवार को प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री उमाकान्त गौतम, मोरङ जिल्ला पूर्वाधार विकास कार्यालय प्रमुख, यातायात व्यवस्था कार्यालय मोरङ–सुनसरीका प्रमुख, सडक आसपासका स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरू र विभिन्न सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

कोशी प्रदेश सरकारको लगानीमा निर्माण गरिएको विराटचौक–घिनाघाट प्रादेशिक सडकलाई व्यवस्थित, सुरक्षित र नमुना सडकका रूपमा विकास गर्न तथा सडक सुशासनका गतिविधिहरू प्रभावकारी रूपमा सञ्चालन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा सहभागीहरूले प्रदेशकै नमुना सडक निर्माणका लागि सडक सुरक्षा, अतिक्रमण नियन्त्रण, सडक क्षेत्र व्यवस्थापन, ट्राफिक अनुशासन तथा सरोकारवाला निकायहरूबीचको समन्वयलाई प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री इन्द्रमणि पराजुलीले सडक निर्माणसँगै त्यसको संरक्षण, व्यवस्थापन र सुशासनलाई समान महत्व दिनुपर्ने बताउनुभयो। उहाँले विराटचौक–घिनाघाट सडकलाई प्रदेशकै उदाहरणीय सडकका रूपमा विकास गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो।

प्रमुख अतिथि मन्त्री प्रदीप सुनुवारले सडक पूर्वाधारको दीर्घकालीन उपयोगिता सुनिश्चित गर्न सडक सुशासन अपरिहार्य रहेको बताउँदै स्थानीय तह, सरोकारवाला निकाय र नागरिकबीचको सहकार्यबाट मात्र नमुना सडक निर्माण सम्भव हुने धारणा राख्नुभयो।

कार्यक्रममा पूर्व मुख्य न्यायाधिवक्ता चुडामणि आचार्य ले “सडक सुरक्षा र सुशासनको अवधारणा” विषयमा प्रस्तुतिकरण गर्दै सुरक्षित, व्यवस्थित र दिगो सडक व्यवस्थापनका लागि कानुनी, संस्थागत तथा सामाजिक पक्षहरूको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताउनुभयो।

अन्तरक्रियामा सहभागी रङ्गेली नगरपालिका पूर्व नगर प्रमुख दिलीप बगडियाले आफूले नगर प्रमुख हुँदा बनाएको सडकको अवस्था र  सडक सुशासनका विषयमा आफ्नो अनुभव   प्रस्तुत गर्नुभएको थियो। 

साथै सहभागीले सडक सुशासनका विभिन्न पक्षबारे सुझाव तथा धारणा राख्दै सडक सुरक्षा, सडक सौन्दर्य, हरित सडक को अवधारणालाई आत्मसात गर्दै  विराटचौक–घिनाघाट सडकलाई प्रदेशकै नमुना सडकका रूपमा स्थापित गर्न साझा प्रतिबद्धता व्यक्त गरेका थिए।