इटहरी । नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिको आयोजना तथा विराटनगर महानगरपालिकाको सहयोगमा शुक्रबारदेखि ’समाचार लेखन तथा आचारसंहिता सम्बन्धी तीन दिने तालिम’ सुरु भएको छ । 

पत्रकारहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्ने र पत्रकारिता क्षेत्रलाई अझ बढी मर्यादित बनाउने उद्देश्यका साथ विराटनगरमा कार्यक्रम सञ्चालन गरिएको हो । नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिका अध्यक्ष भरत खड्काको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा विराटनगर महानगरपालिकाका नगर प्रमुख नागेश्वर कोइराला प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि कोइरालाले समाजलाई सुसूचित गर्ने सञ्चार क्षेत्र सधैँ निष्पक्ष, जिम्मेवार र आचारसंहिताप्रति प्रतिबद्ध हुनुपर्नेमा जोड दिनुभयो । जेठ २२ गतेदेखि २४ गतेसम्म सञ्चालन हुने तालिमको उद्घाटन सत्रमा सञ्चार क्षेत्रका विभिन्न अगुवा तथा प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो। तालिममा विराटनगर र कोशी प्रदेशका विभिन्न सञ्चार माध्यममा कार्यरत करिब ३० जना पत्रकारहरूको सहभागिता रहेको छ ।

तालिमले मोफसलको पत्रकारितालाई थप परिष्कृत बनाउन र सञ्चारकर्मीहरूलाई आचारसंहिताप्रति थप सचेत गराउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकले लिएको छ ।