इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले वातावरण संरक्षण, प्रदूषण नियन्त्रण, जैविक विविधता संरक्षण तथा जलवायु परिवर्तनका चुनौती सामना गर्न सबैको साझा प्रयास आवश्यक रहेको बताउनुभएको छ ।
विश्व वातावरण दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले वातावरण संरक्षण अन्तर्राष्ट्रिय सरोकारको विषय मात्र नभएको उल्लेख गर्नुभयो । उहाँले दिवसले प्रकृति संरक्षणका लागि दैनिक जीवनमा वातावरणमैत्री व्यवहार अपनाउन प्रेरित गर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले स्वच्छ वातावरण, हरियाली प्रकृति र जैविक विविधता संरक्षण आजको प्रमुख चुनौतीका रूपमा रहेको पनि उल्लेख गर्नुभयो । प्राकृतिक सम्पदाको संरक्षण गर्दै मानव जीवनलाई प्रकृतिमैत्री र स्वस्थ बनाउनु आजको आवश्यकता भएको उहाँको भनाइ छ । सन्देशमा उहाँले विश्वको सर्वोच्च शिखर सगरमाथासहितका हिमाली क्षेत्र रहेको कोशी प्रदेश पनि जलवायु परिवर्तनको प्रत्यक्ष प्रभावमा परेको उल्लेख गर्नुभयो ।
उहाँले जलवायु परिवर्तनका कारण हिउँ पग्लने दर बढ्नु, हिमताल विस्फोटको जोखिम वृद्धि हुनु, प्राकृतिक प्रकोप सव्रिmय बन्दै जानु तथा पानीका स्रोत सुक्दा वातावरणीय सन्तुलनमा गम्भीर असर परेको बताउनुभयो । मुख्यमन्त्री कार्कीले चुरे क्षेत्रको अत्यधिक दोहनले पारिस्थितिक प्रणाली कमजोर बन्दै गएको उल्लेख गर्दै वृक्षरोपण, प्राकृतिक स्रोतको दिगो उपयोग, प्रदूषण नियन्त्रण तथा वातावरणमैत्री जीवनशैली अपनाएर भावी पुस्ताका लागि सुरक्षित र समृद्ध भविष्य निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले वातावरणीय सन्तुलन कायम राख्न जैविक विविधताको संरक्षण, प्राकृतिक स्रोतको दोहन नियन्त्रण तथा दिगो विकासको अवधारणालाई व्यवहारमा उतार्नुपर्ने आवश्यकता औँल्याउँदै विश्व समुदायसँग गरिएका प्रतिबद्धता कार्यान्वयनमा सबैको सहकार्य र सहभागिताका लागि आह्वान गर्नुभयो ।


