इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुनसरीको जिल्ला अधिवेशन सुरू हुन लाग्दा प्रतिनिधि छनोट प्रक्रियालाई लिएर विवाद उत्पन्न भएको छ ।
पार्टीका केही नेता तथा कार्यकर्ताले सांसद लालविक्रम थापा र जिल्ला संगठन विभाग प्रमुख मोहन निरौलाको निर्देशनमा मनोमानी ढंगले प्रतिनिधि छनोट गरिएको आरोप लगाएका छन् । आरोप अनुसार पार्टी केन्द्रले वैशाख २७ गतेभन्दा अगाडि गठन भएका विभागहरूलाई मात्र अधिवेशन प्रतिनिधि चयन गर्ने अधिकार दिने स्पष्ट निर्देशन जारी गरेको थियो। तर उक्त निर्देशनलाई बेवास्ता गर्दै इटहरी नगर समितिले जेठ १ गते सूचना प्रकाशित गरी पछि गठन भएका विभागबाट समेत प्रतिनिधि छनोट गरेको दाबी गरिएको छ ।
असन्तुष्ट पक्षले अधिवेशनमा निश्चित समूहका उम्मेदवारलाई जिताउने उद्देश्यले नियमविपरीत आफ्ना निकट व्यक्तिहरूलाई प्रतिनिधिका रूपमा पठाइएको आरोप लगाएका छन्। यसले पार्टीभित्र आन्तरिक लोकतन्त्र र विधि–विधानमाथि प्रश्न उठाएको उनीहरूको भनाइ छ ।
प्रतिनिधि छनोट प्रक्रियाबारे उठेका आरोपका विषयमा सम्बन्धित पक्षको औपचारिक प्रतिक्रिया आउन बाँकी रहेको छ । जिल्ला अधिवेशनको पूर्वसन्ध्यामा देखिएको यो विवादले रास्वपा सुनसरीको संगठनात्मक गतिविधिमा नयाँ बहस सिर्जना गरेको छ ।


