इटहरी / बीवाईडी (BYD) विद्युतीय सवारीसाधनको नेपाल आयातसम्बन्धी विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका समाचारप्रति आधिकारिक वितरक साइमेक्स इन्कले स्पष्टीकरण दिएको छ।

कम्पनीले हालै सार्वजनिक भएको बजेटपछि विद्युतीय सवारीसाधन आयात र भन्सार प्रक्रियाबारे उठेका प्रश्नहरूका सम्बन्धमा आफ्नो आयात प्रक्रिया पूर्ण रूपमा कानुन, नियम र भन्सार प्रक्रियाअनुसार भएको जनाएको छ।

साइमेक्सका अनुसार कोरला (मुस्ताङ) र रसुवागढी नाकामार्फत आयात गरिएका बीवाईडीका विभिन्न मोडेलका सवारीसाधनहरू चीनतर्फको निर्यात अभिलेख र नेपालतर्फको भन्सार अभिलेखमा मिल्दोजुल्दो विवरण रहेको छ। कम्पनीले कोरला नाकाबाट ६४९ र रसुवागढी नाकाबाट ४७२ गरी कुल १,१२१ युनिट सवारीसाधन आयात गरिएको विवरण सार्वजनिक गरेको छ।

कम्पनीले कुनै विशेष सुविधा, प्राथमिकता वा अनधिकृत भन्सार व्यवस्थाबाट लाभ नलिएको दाबी गर्दै सम्पूर्ण आयात प्रक्रिया नियमित व्यावसायिक योजना, उत्पादन तालिका, ढुवानी उपलब्धता तथा कानुनी व्यवस्थाअनुसार सञ्चालन गरिएको जनाएको छ।

साइमेक्सले आवश्यक परे सम्बन्धित निकायबाट हुने कुनै पनि अनुसन्धान वा छानबिनमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। साथै तथ्य पुष्टि नगरी भ्रामक समाचार वा आरोप प्रकाशित नगर्न सञ्चारमाध्यमलाई अनुरोध गरेको छ।

कम्पनीले नेपालमा विद्युतीय सवारीसाधनको विस्तार, वातावरण संरक्षण तथा दिगो यातायात प्रवर्द्धनमा आफू प्रतिबद्ध रहेको समेत जनाएको छ।

Screenshot_2026-06-05-15-37-55-50_a23b203fd3aafc6dcb84e438dda678b6